तुलसीपुरमा गरिबलाई एकलाखसम्मको निशुल्क उपचार

निशुल्क उपचारका लागि सामाजिक एकाई सुरु

तुलसीपुर, ३० जेठ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अति विपन्नले एकलाख रुपैयाँसम्मको औषधी उपचार निशुल्क पाउने भएका छन् । शुक्रबारदेखि अस्पतालमा सामाजिक सेवा एकाई संचालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एकबर्षसम्म एक लाख रुपैयाँ बराबारको औषधी उपचार निशुल्क गर्न पाउने भएका हुन् । कुनै पनि नागरिक आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उद्देश्यले सरकारले यस्तो रणनीति ल्याएको हो ।

पहिलो पटक लक्षित समूहले इमरजेन्सीमा ५ हजार, ओपिडीमा दुई हजार पाँच सय र भर्ना भएमा १० हजार रुपैयाँसम्मको औषधी उपचार निशुल्क पाउने भएका हुन । एकै पटकमा बिरामीले एक लाख रुपैयाँको औषधी उपचार भने गर्न नपाउने सामाजिक इकाई समितिका प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो । यस अघि ७० बर्ष माथिका जेष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेको आधारमा निशुल्क उपचार सेवा पाउने गर्थे ।

यी हुन निशुल्क उपचार पाउने लक्षित समूह
अस्पतालमा एक लाख रुपैयाँसम्मको उपचार पाउनेहरु भने सरकारले तोकेको मापदण्डमा अनिवार्य पर्नुपर्ने छ । त्यसका लागि गरिब, असाहय, अपाङगता भएका व्यक्ति, लैङिगक हिंसा पीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य सवयम्सेविका, विपद् एवम् प्राकृतिक प्रकोप भूकम्प बाढी पहिरो र आगलागीबाट पिडित, शहिद परिवार, कूपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपउन्मुख, आदीबासी जनजाति हुनुपर्ने छ ।
उपचार गर्न आउँनेले परिचयपत्र अनिवार्य ल्याउनु पर्ने छ । परिचय पत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । यसका लागि यस आर्थिक बर्षमा निशुल्क उपचारका लागि १० लाख बजेट विनियोजन भएको छ ।

चुनावको प्रतिवद्धता पुरा भयो ः मेयर पाण्डे
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले चार बर्ष अघि उठाएको मुद्दा अहिले पुरा भएको बताउनुभयो । सामाजिक सेवा एकाइको उदघाटन गर्दैै नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनको समयमा प्रतिवद्धतामा उठाएको कुरा चार बर्ष पुग्नै लाग्दा पुरा भएको बताउनुभयो । जेष्ठ नगारिक, शहिद परिवार र जनयुद्धका घाइतेलाई अब एक लाख रुपैयाँसम्मको उपचारमा कुनै समस्या नपर्ने भन्दै यसको सहजतका लागि उपमहानगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो ।

अस्पतालका विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. विनोद सिंह, कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वली लगाएतले बोलेको थिए ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया