हवाई इन्धन डिपो निर्माणका लागि टेण्डर आव्हान

तुलसीपुर, १० बैशाख । तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणका लागि टेण्डर आव्हान गरिएको छ । नेपाल आयल निगम अन्तर्गत इन्जेनिरीङ तथा परियोजना विभागले ३० दिने सूचना सहितको टेण्डर आब्हान गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको निरन्तरको ताकेतापछि निगमले टेण्डर आव्हान गरेको नगर प्रवक्ता श्याम डाँगीले बताउनुभयो ।

‘हवाइ इन्धन डिपो निर्माणको काम अब अघि बढ्यो । यो मेयरसावको पहलकदमीबाट सम्भव भएको हो ,’ प्रवक्ता डाँगीले भन्नुभयो–‘अब यसले तुलसीपुरलाई समृद्धि बनाउने कुरामा इट्टा थप्ने काम गरेको छ ।’ डिपो निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराएपछि निर्माणको कामले गतिलिन थालेको हो ।

दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डर ग्राउण्डेड टयाङ्कर निर्माण गर्ने र त्यसका लागि टयाङ्कर र ब्राउजर मेसिन तयारी अवस्थामा राखेको नेपाल आयल निगमका प्रबन्धक मनोहर डिसीले जानकारी दिनुभयो । २०११ सालमा स्थापना भएको टरिगाउँ बिमान स्थानमा हिजोआज वायुसेवा निगमको बिमानले हप्तामा सातैबार उडान भर्दै आएको छ ।  टेण्डर आव्हानको समय र मुल्याङ्कनसहित ढिलोमा ४५ दिनभित्र निर्माणको काम सुरु हुने डिसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया