२०८३ भाद्र २३ गते मङ्गलवार

नेपाल दूरसञ्चारको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

काठमान्डौ, १३ चैत्र । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६।७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७÷७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा श्री अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित हुनुभएको भनी गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको तेह्रौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको व्यहोरा अनुरोध गर्दै शेयरधनी महानुभावहरूलार्ई आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय स्वास्थ्य मजबुत बनाउन सञ्चालक समिति सधैँ प्रतिबद्ध रहँदै आएको बताउनु भयो । उहाँले उपभोक्तावर्गको अपेक्षाअनुरूप किफायती, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गर्न शेयरधनीहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि सञ्चालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।

कम्पनीले तुलनात्मक रुपमा लाभ नहुने विकट क्षेत्रमा समेत स्याटेलाइट र अन्य प्रविधिको माध्यमबाट सेवा उपलब्ध गराइरहेको बताउँदै उहाँले कम्पनीले विश्वबजारमा उपलब्ध अत्याधुनिक दूरसञ्चार प्रविधि भित्र्याउनुका साथै मुलुकमा विद्यमान मुद्रास्फितिका बाबजुद आकर्षक महशुल दरमा सेवा उपलब्ध गराउँदै आएको बताउनु भयो । यी प्रयत्नहरू मूलतः राष्ट्र निर्माणप्रति मुखरित भएका र यी कदमहरूबाट पन्ध्रौं आवधिक योजनाले परिलक्षित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा टेवा मिल्ने अपेक्षा राखेको बताउनु भयो ।

महामारीको अवस्थामा मुलुकको शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गरी शैक्षिक संस्थाहरूमा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अगाडि बढाउन नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको र यसले विद्यार्थीहरुको पठनपाठनमा निकै सहयोग पुगेको उहाँले बताउनु भयो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष बस्यालले भन्नुभयो, “कम्पनीले आधारभूत टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए प्रविधिमार्फत भ्वाइस सेवा र एडीएसएल, लिज्ड लाइन, टुजी, थ्रीजी, फोरजी÷एलटीई, वाइम्याक्स, एफटीटीएच प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । आ.व. २०७६÷७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको छ । त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ ।

जीएसएम सेवा कम्पनीको राजस्वको प्रमुख मेरुदण्डीय आधारको रूपमा स्थापित भइसकेको छ भने कम्पनीको भविष्य इन्टरनेट सेवामा रहेको स्वीकार गर्दै चौथो पुस्ताको फोरजी÷एलटीई सेवा विस्तारमा स्रोत÷साधन परिचालन गर्दै आएको छ । कम्पनी विगतमा जस्तै समीक्षा अवधिमा भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सामा अग्रस्थान कायम गर्न सफल भएको छ । कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२.६९ र ४८.६८ प्रतिशत पुगेको तथ्य अवगत गराउन चाहन्छु ।”

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।