२०८३ मङ्सिर ९ गते बुधवार

आयल निगमले फेरी ढाँटेकै हो त ?

तुलसीपुर, २० फागुन । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा बैशाख १ गते उद्घाटन गर्ने भनिएको हवाइ इन्धन डिपाको काम अहिलेसम्म सुरु भएको छैन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले गएको मंसीर ८ गते १५/१६ दिनमा काम हुन्छ भन्दै पत्रकार तथा जनप्रतिनिधीका माझमा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

१५ दिनमा काम सुरु हुन्छ भनेको ४ महिना वितिसक्दा समेत काम नभएपछि आयल निगमको ढाँट्ने बानीले यसपटक पनि निरन्तरता पाएको छ । हवाई इन्धन डिपो राख्ने यसअघिका प्रयासहरु पनि यस्तै आशैआशामा तुईहिएका थिए । जनप्रतिनिध भएका बेला काम बन्छकी भन्ने तुलसीपुरबासीको आशा एकपटक फेरी निराशामा परिवर्तन हुने सम्भावना बढेको छ ।

निगमले जग्गाको कारणदेखाउँदै पन्छिदै आइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन डिपो स्थानपनाका लागि आवश्यक पर्ने ७ कठ्ठा जग्गा उपलब्ध गराउने सहमति जनाएपछि कार्यकारी निर्देशक पौडेलको नेतृत्वमा प्राविधिक सहितको टोली तुलसीपुर पुगेर जग्गाको नापजाँच गरेर फर्किएको थियो । ६ करोड लगानिमा स्थायी इन्धन डिपो निर्माणका लागि पहिलो चरणमा जमिन फिलीङ, कार्यालय भवन, टयाङ्क तथा बाउजर मेसिन राख्नका लागि पार्किङको काम गर्ने बताइएको थियो ।

प्रतिवद्धता व्यक्त गरे अनुसार ४ महिनासम्म पनि काम सुरु नभएपछि स्थानीयहरुले आसंका गर्न थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन डिपो स्थानपनाका लागि आवश्यक पर्ने ७ कठ्ठा जग्गा भाडामा उपलब्ध गराउने मौखिक सहमति जनाएपछि निगमले काम सुरु गर्ने भनेको थियो । बैशाख १ गते उद्घाटन गर्नेगरि निर्माण कार्यलाई तिब्रगतिमा अघि बढाउने र आवश्यक पर्ने आर्थिक रकम तुलसीपुर उपमहानगरपालिको एक करोड र निगमले ५ करोड खर्च गर्ने सहमति समेत भएको थियो ।

दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयाङ्क निर्माण गर्ने र त्यसका लागि टयाङ्क र बाउजर मेसिन खरिदका लागि समेत कार्तिक १५ गते टेण्डर आब्हान गरिएको निगमले जनाएको थियो ।

ढाँट्ने काम नहोस :  तुलसीपुर चेम्बर अफ कमर्स
यता तुलसीपुर चेम्बर अफ कमर्सले विगतको जस्तो ढाँट्ने काम हुननहुने बताएको छ । ‘२०७६ सालको दशै तिहारमा त बाउजर मेसिन पक्का आउँछ भनेर निकै हल्लाखल्ला भयो,’ तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले भन्नुभयो–‘पछि विरगंज गयो भन्ने सुनियो । अहिले पनि हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ ।’

आयल निगमसंग कुनै सम्पर्क छैन : तुलसीपुर उपमहागनरपालिका
यता तुलसीपुर उपमहागनरपालिकाका शाखा अधिकृत अनन्त गौतमले यस बिषयमा पछिल्लो समय आयल निगमका प्रतिनीधिहरुसंग कुनै सम्पर्क नभएको बताउनुभएको छ ।

आयल निगमले के भन्छ ?
यता नेपाल आयल निगमका प्रवक्ता दिनेशमणी आचार्यले अन्य काममा लागेकाले यसका विषयमा बुझ्न नपाएको बताउनुभयो । ‘हामीहरु अहिले अन्य काममा लागेकाछौ,’ प्रवक्ता आचार्यले भन्नुभयो–‘हवाइ इन्धन डिपो निर्माणका लागि काम गर्ने भन्ने कुरा त हो तर आजभोली अन्य काममा व्यस्त छौ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।