२०८३ भाद्र १० गते बुधवार

तुलसीपुर उद्योग बाणिज्य संघको उपाध्यक्षबाट अध्यक्षमा उक्लिन नसकेको कम्युनिष्ट नेतृत्व( नाम सहित)

तुलसीपुर १२ माघ । मुलुकमा राजनितिक आस्था र विचार बिनाका मानिस बिरलै भेटिन्छन् ।जुन सुकै मानिस राजनितिक आस्था र विचारको आधारमा स्वतन्त्रपुर्वक कुनै पनि राजनितिक दलको नेता, कार्यकर्ता, शुभेच्छुक बन्न छुट छ । यो राजनितिक क्षेत्रको हिसाबमा स्वभाविकै मानिन्छ । राजनितिक क्षेत्रमा यो वा त्यो भनेर तछाडमछाड गर्नु पनि सामान्य मानिएला ।कुनै पाटीको राजनितिक संरचना तथा निर्वाचनको समयमा राजनिति गर्नुलाई पनि स्वभाविकै मानिन्छ ।

तर सामाजिक संघसंस्थाको गठन तथा नेतृत्व चयनका विषयमा समेत कुन दलको मान्छे कुन पदमा बस्ने भन्ने निकै रस्साकस्सी र हानथाप हुने गरेको समाजमा थुप्रै उदाहरण छन् । राजनिति अलग क्षेत्र भएपनि सामाजिक संघसंस्थाको नेतृत्व गर्ने मानिस कुन दलको हो भन्ने विषयले प्राथमिकता पाउने गर्दछ ।समाजमा हुने विकास निर्माणको उपभोक्ता समिति गठन, टोल विकास संस्था गठन देखी लिएर सामाजिक संघसंस्था, समुह ,समिति गठन गर्दा समेत राजनिति हुने गर्दछ ।

यद्यपी सामाजिक क्षेत्र जस्तो स्वतन्त्र र पवित्र कार्यमा समेत राजनितिलाई जोड्नु त्यति सान्र्दभिक र उपयुक्त मानिदैन । यो राजनिति गर्ने थलो नभएको भन्दै यसलाई बिकृति रुपमा देखा परेको भन्ने धेरैको बुझाई छ । यसैक्रममा तुलसीपुर उपमहानगर क्षेत्रको व्यापार व्यावसायहरुको साझा छाता संगठन तुलसीपुर उद्योग बाणिज्य संघ हो । यो संस्था व्यवसायीहरुको हक र अधिकारको पक्षमा काम गर्ने बिशुद्ध सामाजिक संस्था हो । तर पनि कसले नेतृत्व गर्ने भन्ने होडबाजी निकै हुने गर्दछ । यसको स्थापना काल देखी हाल सम्मको नेतृत्वको बारेमा तुलसीपुर खबरडटकम अनलाईनले केलाउने प्रयास गरेको छ ।

विगतको ईतिहास देखी हाल सम्म कुन राजनितिक दल निकटका व्यवसायीले कति पटक नेतृत्व गरे भन्ने सवाललाई अनलाईनले उठान गरेको छ । तुलसीपुर उद्योग बाणिज्य संघ २०४९ सालमा स्थापना भएको हो । त्यतिबेलाका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत हुन् । उनी काग्रेस निकट व्यवसायी हुन् ।त्यसपछि १३ औँ अबिधेशनबाट १३ जनाले उद्योग बाणिज्य संघको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । अर्थात उनीहरुले अध्यक्षमा रहेर जिम्मेवार निर्वाह गरेका छन् ।

अब यसलाई कुन राजनितिक दलका व्यवसायीहरुले कति पटक नेतृत्व गरे भन्ने विषयलाई अध्ययन गर्दा प्रजातन्त्र विचार र आस्था भएका व्यवसायीले नै निरन्तर नेतृत्व गदै आएको उद्योग बाणिज्य संघको तथ्याङकमा उल्लेख छ ।जसमा बामपन्थी विचार बोकेका एक जनाले मात्रै संघको नेतृत्व गरेको पाईन्छ । ती मध्ये तत्कालिन नेकपा एमाले निकट व्यावसायी ठाकुर प्रसाद धितालले २०५३ देखी ५५ सम्म उद्योग बाणिज्य संघको नेतृत्व गरेका थिए ।जानकारहरु अनुसार संघको १३ औँ अबिधेशन सम्म कम्युनिट निकट व्यावसायीले महासचिव र उपाध्यक्ष पद बाहेक अध्यक्षमा नेतृत्व गर्ने अवसर पाएका छैनन् ।

यस्तै बामपन्थी निकट मानिने व्यावसायी अम्मरराज आचार्यले २०६२ देखी ६४ सम्म संघको नेतृत्व गर्ने अवसर पाए तर उनी त्यतिबेला महासचिव थिए । तत्कालिन अवस्थामा उपाध्यक्ष र अध्यक्षले राजीनामा दिएपछि उनले शौभाग्य बस अध्यक्षमा काम गर्ने अवसर प्राप्त गरेको जानकार बताउँछन् । जानकारका अनुसार उनले अधिबेशन बिना नै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अबिधेशनबाट संघको नेतृत्व सम्हालेका बामपन्थी निकट व्यवसायी धिताल मात्रै हुन् ।

२०४९ देखी ५१ सम्म संघको अध्यक्षमा गणेसप्रेम श्रेष्ठ भए । उनी पनि काग्रेस निकट मानिन्छन् ।यस्तैगरी २०५१ देखी ५३ सम्म राम बहादुर देवकोटा, २०५५ देखी ५८ सम्म विष्णु प्रसाद केसी, २०५८ देखी ६० सम्म चिरणजिवी रिजाल, २०६० देखी ६२ सम्म उत्तमकुमार श्रेष्ठ,२०६२ देखी ६४ सम्म हेमन्तकुमार रिजाल, २०६४ देखी ६६ सम्म दिपेन्द्र कुमार खत्री, २०६६ देखी ६८ सम्म पुनह दिपेन्द्र कुमार खत्री, २०६८ देखी ७१ सम्म टेकन प्रसाद बस्नेत(हिमाल), २०७१ देखी ७४ सम्म बिमल रिजाल र २०७४ देखी ७७ सम्म विर बहादुर रावत (विरु)ले उद्योग बाणिज्य संघको नेतृत्व गरेका छन् ।

उनीहरु सवै प्रजातान्त्रिक व्यावसायी हुन् ।बामपन्थी अर्थात कम्युनिष्ट निकट व्यावसायीहरु उद्योग बाणिज्य संघको महासचिव र बरिष्ठ उपाध्यक्षमा पटक पटक पुगेपनि अध्यक्षमा पुग्न नसकेको पुराना व्यवसायी खगेन्द्र पोख्रेलले बताएका छन् ।स्वयम उनी संघको महासचिव , उपाध्यक्ष र सल्लाहकार भईसकेका छन् । तर अध्यक्ष हुन पाएका छैनन् ।उनी अझै पनि संघको अध्यक्ष बन्ने चाहाना भएको बताउँछन् । संघको नेतृत्व चयन सर्बसम्मत भन्दा पनि विशेषगरी निर्वाचन प्रक्रिया हुने भएकाले कम्युनिष्ट निकट व्यावसायी अर्थात मतदाता संख्या कम भएकाले पनि नेतृत्वमा पछि परेको उनको अनुमान छ । संघको १४ औँ अबिधेशन तथा २६ र २७ औँ साधारण सभा आगामी फागुनमा हुने मिति तय भईसकेको छ ।यदपी जुनसुकै विचारधारको व्यावसायीले संघको नेतृत्व गरेपनि समग्र व्यावसायीहरुको हितको पक्षमा काम गरेर देखाउन जरुरी छ ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया