बजार क्षेत्रमा १५ वटा सिसि क्यामेरा जडान

 तुलसीपुर ४ पौष । तुलसीपुर उपमहानगरपालिका कार्यालयले तुलसीपुर बजार क्षेत्रका विभिन्न स्थानमा सी.सी क्यामेरा जडान गरेको छ । तुलसीपुर बजार क्षेत्र भित्र बढ्दो अपराधिक गतिविधिहरुलाई न्युनिकरण गर्नका लागी भन्दै एक हप्ता अघि देखी बजार क्षेत्रमा सिसि क्यामेरा जडानको काम सुरु भएको थियो । तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा २० ओटा सी.सी.टी.भी. क्यामेरा जडान गर्ने लक्ष्य रहेकोमा हाल सम्म १५ ओटा सी.सी.क्यामेरा जडान गरिएको तुलसीपुर उपमहानगरपालिकाका कम्प्यूटर ईन्जिनियर निपेन्द्र झाले जानकारी दिएका छन् ।उनका अनुसार मानिसहरुको बढि चहलपहल हुने स्थानमा क्यामरा जडान गरिएको छ ।

जहाँ कुनै समय अपराधिक घटनाहरु भएमा तुरुन्त थाहा पाउन सक्ने गरी क्यामेरा जडान गरिएको छ । बाँकी रहेका स्थानमा छिटै नै क्यामेरा जडा हुने भएको छ । साथै सी.सी.टी.भी. क्यामरा जडान पश्चात क्यामरा सन्चालन गर्नका लागी ईन्भटरको चार्ज आबश्यक पर्ने भएकाले इन्भटर जडान गर्न बाँकी रहेको उनी बताउँछन् ।

उनका अनुसार अहिले तुलसीपुर बजार क्षेत्रको बिरेन्द्र चोक,बी पी चोक,जेसिज चोक,बाहिनी चोक,ग लाईन,पातुखोला,स्टारलज,रौनियार मेडिकल नजिक,तुलसी बोर्डिङ चोक,सिद्धार्थ हार्डवेयर नजिक,खानेपानी संस्था नजिक,राप्ती प्रदेशिक अस्पताल ,विद्युत कार्यालय नजिक ,सुनिल स्टेशनरी,बसपार्क जाने आरोलो पिपल बोट नजिकै गरी १५ ओटा स्थानमा हाल सी.सी.क्यामेरा जडान गरिएको छ ।

ती क्यामरा जडानका लागी तुलसीपुर उपमहानगरपालिकाले २० लाख ८३ हजार २ सय ९१ बजेट खर्च गरेको कम्प्यूटर इन्जिनियर झाले जानकारी दिएका छन् । यसरी बजार क्षेत्रमा जडान गरिएका सिसि क्यामेराबाट कुनै पनि अपराधिक घटनाको अनुसन्धान गर्न सहज हुने ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले बताएका छन् ।

उपमहानगरपालिकालाई आफुहरुले विगत देखी नै सिसि क्यामेरा जडानको लागी ताकेता गदै आएकोमा हाल उपमहानगरपालिकाले गरेको कार्य प्रति आफुहरु खुसी भएको उनको भनाई छ । उनका अनुसार पछिलो समय तुलसीपुर क्षेत्र भित्र अपराधिक गतिविधि बढ्दै गएको हुनाले अपराधिक गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सिसि क्यामराको आबश्यकता छ ।

अहिले उपमहानगरपालिकाले बजार क्षेत्र सिसि क्यामेरा जडान गरेको अवस्थामा तुलसीपुर क्षेत्र भित्र हुने चोरी, अपराधिक घटना ,ट्राफिक नियमको उल्लघंन जस्ता अपराधिक गतिविधि न्यूनिकरण हुनुका साथै ईलाका प्रहरी द्धारा समय समयमा गरिने विभिन्न अनुसन्धानका कार्यमा समेत सजिलो हुने डिएसपी सिंहको भनाई छ । बजार क्षेत्रमा जडान गरिएका सम्पुर्ण क्यामेराको कन्ट्रोल कक्ष ईलाका प्रहरी कार्यालय तुलसीपुरमा रहनेछ ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया