तुलसीपुर बसपार्क सुधार गर्न कार्यदल गठन

मंसीर २३ तुलसीपुर । तुलसीपुरका शालिकराम केसी पुराना यातायात व्यवसायी हुन् । लामो समय सम्म यातायता मजदुरी गदै उनी अहिले यातायात व्यवसायी बनेका छन् । विगतका दिनमा तुलसीपुरको बसपार्कमा काउन्टर पनि थोरै थिए । यात्रुहरुको चहलपहल पनि कम हुन्थ्यो । यात्रु तानातान, यात्रु प्रति दुव्र्यवहार, यात्रु ठग्ने जस्ता कुनै किसीमको अमर्यादित काम हुदैनथ्यो । यातायात मजदुरहरु पनि सभ्य शैलीमा यात्रुहरुलाई शिष्ट भाषा प्रयोग गर्दथ्ये ।

तर पहिले र अहिलेको आनाीबानीलाई तुलना गर्दा लाजमर्दो स्थिति रहेको छ । उनी विगत सम्झदै भन्छन् अहिलेका यातायात मजदुर र कर्मचारीको शैली व्यवहार कस्तो हो । म पनि लामो समय सम्म यातायात क्षेत्रमा लागेर गाडी चलाएको हुँ उनले भने तर हामीले कहिल्यै पनि यात्रुलाई नराम्रो बोली बचन गरेनौँ । सोमवार तुलसीपुरको बसापर्कमा सरोकारवालाहरुको सहभागितामा भएको छलफलमा भाग लिदै उनले भने अहिले त बसपार्कमा यात्रु तानातान गरेको देख्दा लाज लाग्छ ।

बसपार्क जाने जो कोहीलाई पनि हात पाखुरा समाउदै घेरा हालेर कहा जाने भन्दै यात्रुलाई केरकार गर्ने प्रबृतिले सबैलाई चकित बनाएको छ । यस्तो प्रबृतिबाट यातायात मजदुर र कर्मचारीहरु सुध्रिनु पर्दछ ।क्षेत्र उहि हो तर यात्रु प्रति गरिने व्यवहार र शैली प्रति उनको कत्ति चित्त बुझेको छैन ।बसपार्कमा जाने महिला दिदी बहीनी तथा दाजुभाई आफना दाजुभाई जस्तै हुन् तर त्यहाको दृश्य देख्दा लाज लाग्छ उनले भने त्यस कारण म खासै बसपार्क जान रुचाउदैन । अब यस प्रति यातायात मजदुर, व्यवसायी र कर्मचारी एकजुट भएर गम्भिर बन्न आबश्यक रहेको उनले औल्याए ।

नयाँ बसपार्कमा भएका यस्ता वेथितिलाई सुधार गर्नका लागी यस क्षेत्रका सरोकारवालाहरुले चासो दिनुपर्ने उनको भनाई थियो । बसपार्क तथा बस स्टेशनमा बस चालक तथा परिचालकको आनाबानीमा परिवर्तन ल्याउन जुरुरी रहेको उनले बताएका छन् ।सोहि अवसरमा बोल्दै मालिका कालिका यातायात प्रालिका प्रतिनिधि रेशम बस्यालले यातायात मजदुरहरु स्वंयम यो विषयमा जानकार भएता पनि अटेरी गर्ने प्रबृत्ति बढेको बताएका छन् ।

यात्रु प्रति कसैले अमर्यादिन गर्नु हुदैन भन्ने थाहा हुदा हुदै पनि छाडा प्रबृत्ति मौलाउन थालेको भन्दै यस्ता गलत कार्यलाई रोक्न आबश्यक रहेको बताएका छन् । कसैले यस्तो गनै पनि नहुने र कसैले गरेमा कानुनी कारवाही गर्नुपर्ने उनको माग छ ।अस्थायी प्रहरी पोष्ट बसपार्कका ईन्चार्ज सोमराज हमालले बसापर्कमा यात्रु प्रति हुने दुव्र्यवहार र यात्रु तान्ने कार्यलाई रोक्नका लागी सक्रियता बढाएको छ । प्रहरीले बसापर्क क्षेत्रका काउन्टर कर्मचारी, यातायात व्यवसायी, यातायात मजदुर संगठन लगाएतका सरोकारवालाहरु संग छलफल गरी यस्तो कार्य गर्ने जो सुकैलाई पनि कारवाही गर्ने निर्णय गरेको छ ।

सोहि अनुसार मंसीर १४ गतेदेखी कारवाही सुरु गरेको अस्थायी प्रहरी पोष्ट बसपार्कका ईन्चार्ज सोमराज हमालले बताएका छन् । उनका अनुसार सचेत गराउनका लागी हाल सम्म बसपार्क क्षेत्रमा यात्रु तान्ने ४० बढिलाई नियन्त्रणमा लिईएको छ । यो अभियानमा साथ दिन उनले सवैमा अपिल समेत गरेका छन् । बसपार्क क्षेत्रलाई शान्तीपुर्ण बातावरण बनाउन प्रहरीको अभियानमा आम नागरिकको पनि सहयोग चाहिने भन्दै सवैमा उनले सहयोग गर्न आग्रह गरेका छन् ।

सोहि अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर कमिटिका अध्यक्ष केशव भण्डारीले बसपार्कलाई नमुना योग्य बनाउन सवैको महत्वपुर्ण भुमिका रहने भन्दै आगामी दिनमा थप सुधार गर्ने बताएका छन् ।यातायात मजदुरहरुलाई बेलाबेलामा यात्रुमैत्री व्यवहारका लागी प्रशिक्षण र सेचतना कार्यक्रम सन्चालन गरे पनि सोचे अनुसार सुधार हुन नसकेको भन्दै यसका निम्ति आफुहरु निरन्तर लागी परेको उनको भनाई छ ।बसपार्कको फोहोर मैला देखी अव्यवस्थित पाकिङ लगाएतका व्यवस्थापन राम्रो हुन नसकेको हुदा यस प्रति सम्वन्धित निकायले ध्यान दिनुपर्ने बताएका थिए ।

नमस्ते राप्ती यातायात प्रालिका कार्यालय प्रमुख सुसील न्यौपानेले चालक परिचालकको आनाबानी सुधार संगै प्रहरी प्रति पनि प्रश्न उठाएका छन् । ट्राफिक प्रहरीले आफुहरुलाई मानव जस्तो व्यवहार गर्न नसकेको आरोप लगाउदै यातायात मजदुर तथा कर्मचारी प्रति प्रहरीले बोल्ने शैलिलाई सभ्य बनाउनु पर्ने बताएका छन् ।

सो अवसरमा तुलसीपुर डिलक्स यातायात प्रालिका प्रशासनिक सचिव निम कुमार श्रेष्ठ, त्रिशिद्धेश्वरी यातायात प्रालिका शालिकराम दुलाल, राप्ती सेवा प्रालिका राज कुमार विक, , गोविन्द बस्ने , कृष केसी र भोजराज बस्नेत, पत्रकार समुन केसी लगाएतले बसपार्कको बेथितिलाई सुधार तथा व्यवस्थित बनाउनु पर्नेमा जोड दिएका थिए । यो विषयमा यातायात मजदुर संगठन, यातायात व्यवसायी, सुरक्षाकर्मी, कर्मचारी लगाएतले गम्भिर रुपमा छलफल गरेका छन् ।

कार्यदल गठन
बसपार्कको बेथिति सुधार गर्नका लागी कार्यदल गठन भएको छ । बसपार्कमा यात्रु तानातान,भाडाको बार्गेनिङ, अनाश्यक भ्रम फैलाउने लगाएतका गलत कार्य भए नभएको बारेमा निगरानी बढाउने र कारवाहीका लागी सिफारिस गर्ने गरी कार्यदल गठन गरिएको छ । दाङका सवै यातायात प्रालिहरुको प्रतिनिधित्व हुने गरी शंकर लामीछानेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । उनी राप्ती सेवा प्रालिका प्रतिनिधि हुन् ।

यस्तैगरी सदस्यहरुमा त्रिशिद्धेश्वरी यातायात प्रालिका शालिकराम दुलाल, अम्बिकेश्वरी यातायात प्रालिका भोजराज बस्नेत, नमस्ते राप्ती प्रालिका बसन्त वली, शाहारा यातायात प्रालिका बिशाल आले, मालिका कालिका प्रालिका दिपेश कडेँल, सार्वजनिक मालिका यातायात प्रालिका नरेश डाँगी, तुलसीपुर डिलक्स प्रालिका अरुण रावत लगाएतका सदस्यमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया