ईप्रका हापुरेका प्रहरी जवानको कोहलपुरमा मृत्यु

तुलसीपुर, १ मंसीर । डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेर थचक्क भूँइमा बसेका ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको छ ।

कार्तिक २७ गते बिहान डिउटीमा रहेका बेला एक्कासी चक्कर लाग्यो भनेका प्रहरी जवान जगत बहादुर खत्रीलाई उपचारका लागि तुलसीपुर, घोराही हुँदै कोहलपुर लगिएको थियो ।

प्रहरी जवान खत्रीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । विगत एक बर्षदेखि ईप्रका हापुरेमा कार्यरत प्रहरी जवान खत्रीले गाडी चलाउने काम गर्थे ।

‘डिउटीमा बसेका खत्री रेष्टरुममा जानेबेला चक्कर लाग्यो भनेर थचक्क बसेछन् । त्यसपछि उनलाई उपचारका लागि तुलसीपुर लगियो । अलि ठिक भएपछि हापुरेमा ल्याईयो –ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्चार्ज मोहन विक्रम केसीले भने– ‘भोलीपल्ट फेरी त्यस्तै भएपछि तुलसीपुर लगियो । तुलसीपुले घोराही पठायो । घोराहीले कोहलपुर पठायो ।’

प्रकाशित मिति : २०७७ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया