बजारमा चहलपहल बढ्यो तर उत्साह बढेन

 तुलसीपुर २८ कात्तिक ।नेपाली हिन्दुधर्मावलम्बीहरुको दोस्रो महान् चाड तिहार सुरु भएको छ ।कोरोना माहामारीका बाबजुद आएको यस वर्षको तिहारमा चहलपहल बढेपनि उत्साह भने बढेको पाईदैन ।विगतका वर्षमा जस्तै यस वर्ष सामान्य अवस्था नहुदा मानिसहरुलाई तिहार मनाउने भन्दा पनि संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता छ ।

विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणका कारण बडा दशै पनि खल्लो भएको थियो । विगतका वर्षमा चार्डपर्व आउनु भन्दा एक÷दुई महिना अगावै देखी तयारी सुरु गरिन्थ्यो ।तर यस वर्ष कोरोनाले गर्दा त्रासपुर्ण बाताबरणमा दशै मनाईएको छ भने तिहार पनि यसरी नै मनाईदैछ । यद्यपी दाङका प्रमुख बजारहरुमा तिहारको चहलपहल बढेको छ । कोरोनाको जोखिम भएता पनि तुलसीपुर बजारमा आजभोली किनमेल गर्न आउने मानिसहरुको भिडभाड हुने गरेको देख्न पाईन्छ ।

सामाजिक दुरी कायमलाई व्यवास्ता गदै व्यापारी र उपभोक्ताहरु किनमेल गर्नमा व्यस्त देखीन्छन् । कोरोनाको जोखिम छ भन्ने थाहा हुदा पनि तिहारले गर्दा कोरोनाको कुनै प्रवाह छैन । साथै तिहारलाई चाहिने आवश्यक सामाग्री संगै कृतिम माला तथा मखमली मालाहरुले बजारका पसलहरु रंगिएका छन् । तर तिहार मनाउने तयारी गरे पनि मानिसहरुको मनमा भने कोरोनाकै त्रास छ । चाडपर्वको महत्व बढे पनि उनीहरुमा कोरोना त्रासले गर्दा मानिसहरुमा विगतको जस्तो उत्साह उमंङग छाएको देखीदैन ।

विशेषगरी तिहारमा देउसीभैलो कार्यक्रमलाई महत्वपुर्ण मानिन्छ । तर यस वर्ष स्थानिय प्रशासनले कुनै पनि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोरोना भाईरस संक्रमण फैलिन सक्ने भन्दै भिडभाड गर्न, जमघट गर्न र देउसीभैलो खेल्न पुर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
जसले गर्दा यसपालीको तिहारलाई पर्वका रुपमा मात्रै मनाउन आम नागरिकमा आग्रह गरिएको छ । बाँचे अर्को वर्ष पनि चार्डपर्व मनाउन पाईने भन्दै यस वर्षको तिहारलाई उत्सव नभई रितरिवाजको पर्वका रुपमा मात्रै मनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया