तुलसीपुर २७ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ र ६ को बजार क्षेत्रका सडकमा परेका दर्जनौ खाल्टाखुल्टी पुरिएको छ । बजार क्षेत्रकै प्रमुख सडकका विभिन्न ठाउँमा परेका खाल्टाखुल्टीहरु पुरिएको छ । सडक नेपाल बोड मार्फत सडक मर्मत सम्भारका लागी विनियोजन भएको बजेटबाट तुलसीपुर बजार क्षेत्रमा सडकमा परेका खाल्टाखुल्टी पुरिएको तुलसीपुर उपमहानगरपालिका कार्यालयका ईन्जिनियर पवन कुमार योगीले जानकारी दिएका छन् ।
गत आर्थिक वर्ष ०७६÷०७७ को स्वीकृती बजेट भएता पनि कोरोना माहामारीका काम हुन सकेको थिएन । गएको फागुनमा ७७ लाखको टेन्डर आह्वान भएकोमा भैरव निर्माण सेवा कम्पनीले भ्याट सहित ५६ लाख बजेटमा काम गरेको ईन्जिनियर योगीले जानकारी दिएका छन् । उनका अनुसार वडा नम्वर ५ र ६ का विभिन्न स्थानमा गरी पन्ध्र हजार स्क्वायरमिटर सडक मर्मत गरिएको छ । दशै अगाडीबाट सुरु भएको सडक मर्मतको काम सकिएको र कहिकतै छिटफुट बाहेक सवै काम सकिएको छ । आउने माघ सम्म काम सक्ने सम्झौता भएपनि निर्माण कम्पनीले कात्तिकमै काम सकेको उनको भनाई छ ।
तुलसीपुर बजारको विरन्द्र चोक, बसपार्क ओरालो पिपल बोट, जेसीज चोक देखी तुलसीपुर उद्योग बाणिज्य जाने सडक, ग लाईन स्थित रौनियार मेडिकल नजिक, डिलाईट कर्नर जाने बाटो लगाएतका विभिन्न स्थानमा परेको सडक खाल्टाखुल्टी पुरिएको हो । यस्तैगरी वडा नम्वर ६ अन्र्तगत घोराही रोड विद्युत कार्यालय अगाडी, शिखर कोलनी ,लक्ष्मीनारायण मन्दिर लगाएतका स्थानमा मर्मत तथा खाल्टाखुल्टी पुरिएको ईन्जिनियर योगीले जानकारी दिएका छन् । तुलसीपुर बजार क्षेत्रमा सडक नेपाल बोर्डबाट प्रत्येक वर्ष आउने बजेटबाट सडकका खाल्टाखुल्टी पुर्ने काम हुदै आएको छ । सडकमा परेका खाल्टाखुल्टीले सवारी आवगमनमा समस्या हुने गरेको थियो भने दुर्घटनाको जोखिम थियो ।





