अतिक्रमित जग्गा खाली गराउने अस्पतालको तयारी

तुलसीपुर, ६ कार्तिक / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ । अस्पतालको ६ विघाह १७ कठ्ठा जग्गा मध्य करिब डेढ विघाह क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले बताएको छ ।
अस्पतालका अनुसार ५ (घ)को कित्ता न.७८ मा –०५–०६–०२ धुर, कित्ता नं.८५ मा –००–०१–०१ धुर, कि.न.२६३४ –०१–०६–०७ धुर र ८ (ख)को ११०१ मा –००–०४–० समेत गरेर ६ विघाह १७ कठ्ठा १० धुर जग्गा छ ।  यसका लागि दशै लगत्तै अस्पतालले सर्बदलिय सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिए ।

अतिक्रमित जग्गा खाली गराउनका लागि २०७२ सालदेखि अस्पताल विकास समिति र अस्पताल प्रशासनले कानुनी प्रकृया अघि बढाएको हो । अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचना समेत जारी गरी सकेको छ । समितिका अध्यक्ष न्यौपानेका अनुसार अस्पतालको भवनदेखि दक्षिण तर्फ सडकको पूर्व – पश्चिममा गरेर ८ वटा घर बनेका छन् भने उत्तर तर्फ ईलाका प्रहरी कार्यालय जाने सडकको पश्चिम तर्फ करिब २५ वटा घरटहरा निर्माण भएका छन् ।

अस्पतालले सहज रुपमा आफनो जग्गा छुट्याउन नपाउँदा सुरिक्षीतका लागि पर्खाल निर्माण, नर्स तथा डाक्टर बस्ने घर, गार्डेन, अस्पतालको प्रशासनिक तथा इन्डोर भवन, पार्कीङ र अन्य अस्पतालका लागि चाहिने आवश्यक भौतिक संरचना निर्माण गर्न नपाएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।

गर्दन जाला छोड्दैनौ : स्थानीय

यता स्थानीयले भने कुनै पनि हालतमा जग्गा नछोड्ने बताएका छन् । विगत २७ बर्षदेखि बस्दै आएको बताउने सुमी घर्तीले गरिब जनतालाई रुवाएर भलो नहुँने भन्दै भत्काउन आएमा गर्दन गएपनि जग्गा नछोड्ने बताइन । ‘ छोरो २२बर्षको भयो । हामीले पनि ऐलानी भनेर अर्कैबाट किनेका हौं,’ सुमीले भनिन् –‘उति बेला अस्पताल कहाँ गएको थियो ?’

२०१६ सालदेखि बसेको बताउने चन्द्र गुप्ताले पनि अस्पताल भन्दा आफुहरु अघि आएर बसेको बताउँदै घर भत्काउन आएमा प्रतिकार गर्ने बताए । ‘यतिका बर्षसम्म बस्दा के हेरेको थियो ,’ गुप्ताले प्रति प्रश्न गर्दै भने –‘जनताका लागि अस्पताल हो । जनता नभए के कालागि अस्पताल ? ’

तीन पटकसम्म घरटहरा हटाउन अस्पताले सूचना टाँस गरेको बताउदै अर्का स्थानीय देवराज शर्माले आफुहरु ५२ सालदेखि बसेकाले नछोड्ने र छोड्नु परे बैकल्पिक व्यवस्था राज्यले गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया