काठमाडौ, २८ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बुधवार पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग सम्वाद गर्न प्रचण्ड बिहान बालुवाटार पुग्नुभएको थियो । दुई अध्यक्षबीच अढाइ घण्टा लामो छलफल भएको छ ।
कर्णालीमा नेकपामा देखिएको विवादबारे दुई अध्यक्ष बीच सम्वाद भएको भएपनि ठोस सहमति भने जुट्न नसकेको वालुवाटार स्रोतले जनाएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद बाहिर देखिएको थियो । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पछि हटेपछि मुख्यमन्त्रीको पद जोगिएको छ ।
मुख्यमन्त्री शाही र नेता नेपाल समूहबीच मन्त्रिपरिषद् पुनगर्ठन गर्ने र सचेतक नियुक्त गर्ने सहमति जुटेपछि अविश्वासको प्रस्ताव बिफल भएको थियो ।
नेता नेपाल पक्षका थप तीनजना मन्त्री बनाउने र सचेतक नियुक्त गर्ने सहमति भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने हुन सकेको छैन । दुई अध्यक्ष ओली र प्रचण्डले पत्र थप कदम नचाल्न निर्देशन दिएका छन् । विहिवार छलफलका लागि कर्णालीका नेताहरुलाई काठमाडौं बोलाइएको छ ।


















