तुलसीपुर, २८ असोज ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना आसंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परिक्षण गर्दा रिपोट पोजेटिभ आएको खानेपानी संस्थाले जानकारी दिएको छ । संस्थाको भल्भ चौकीदारमा कार्यरत कर्मचारीमा कोरोना देखीएपछि कार्यालयलाई छ दिनका लागी सिल गरिएको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिएका छन् ।
नियमित डिउटीमा रहेका कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बुधवार देखी आगामी कात्तिक ४ गते सम्म सिल गरिएको उनले जानकारी दिएका छन् । कार्यालयबाट प्रवाह गरिने नियमित पानी वितरणको सेवा बाहेक अन्य सवै कामकाज बन्द गरिनेछ । ती कर्मचारी उपभोक्ताको घरघरमा समेत पुगेर भेटघाट समेत गरेका थिए । कार्यालयमा अन्य कर्मचारीको समेत कोरोना परिक्षण गर्ने तयारी भईरहेको अध्यक्ष वलीले बताएका छन् ।
यसैविच तुलसीपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा १० जना तथा भेरी अस्पताल र टेकु काठमाडौंमा १÷१ एक जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उता घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्षलाई कोरोना भाइरसको संक्रमण भए पछि वडा कार्यालय एक साता सम्मका लागी सिल गरिएको छ ।






