लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित सात हजार बढि प्रहरी परिचालन गर्ने तयारी

तुलसीपुर , २६ असोज । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित सात हजार भन्दा बढि प्रहरी जनशक्ति परिचालन गर्ने तयारी गरेको जनाएको छ । नेपालीहरुको महान् पर्व बडा दशै र तिहारलाई लक्षित गरी प्रदेशभर व्यापक प्रहरी जनशक्ति परिचालन गर्ने तयारी भएको प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । प्रदेशका कुनै पनि ठाउँमा चार्डपर्वको समयमा अपराधिक तथा समाज अशान्ती फैलाउने गतिविधि हुन नदिनका लागी १२ वटै जिल्लामा व्यापक रुपमा प्रहरी परिचालन गरिने उनले बताएका छन् ।

उनका अनुसार चाडपर्वको समयमा सुरक्षित यात्रा गर्ने क्रममा कुनै यात्रुलाई समस्या परेमा आबश्यक सहयोग तथा समन्वयका लागी प्रदेश अन्र्तगत ३० स्थानमा ट्राफिक तथा जनपद प्रहरी सहितको ३० वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गरिने भएको छ । शान्ती सुरक्षाको व्यवस्थापनका लागी प्रहरी गस्ती,पेट्रोलिङ,चेकजाँच लगाएतको काममा प्रहरी खटिनेछन् ।

यस्तैगरी जुवातास लगाएतका अवैध क्रियाकलाप नियन्त्रण गर्न विभिन्न जिल्लामा २५ वटा विशेष प्रहरी टोली, ट्राफिक प्रहरी नियम विपरित सार्वजनिक सवारी साधन चले नचलेको बारे चेकजाँच गर्न ट्राफिक प्रहरी सहितको ४१ वटा प्रहरी टोली र गुडागर्दी, चोरी डकैती, लुटपाट तथा झैझगडा नियन्त्रण गर्नका लागी विभिन्न प्रहरी ईकाईबाट २५ वटा प्रहरी टोली परिचालन गरिने प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् ।

साथै ग्रामीण गस्ती, गाउँगाउँमा नागरिक संग भेटघाट कार्यक्रम गदै गाउँबस्तीमा सुरक्षा अनुभुति गराउन प्रदेशका ५९० वटा ईकाईहरुबाट दैनिक रुपमा पेट्रोलियम गर्ने व्यवस्थापन हुने उनको भनाई छ । उनका अनुसार रातको समयमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रदेशका राजमार्ग र सहायक राजमार्ग गरी ६५ वटा चेकप्वाईन्टमा विशेष निगरानी तथा चेकजाँचको व्यवस्था मिलाईनेछ ।

यस्तैगरी सिमाक्षेत्रमा सम्वन्धित जिल्ला प्रहरी कार्यालयबाट अनुगमनको व्यवस्थापन, महिला, बालबालिका, अपाङगता र जेष्ठ जस्ता नागरिकलाई यात्राको क्रममा कुनै समस्या अथवा हिंसा भएमा तत्काल उद्दार गरी कानुनी कारवाहीका लागी १२ वटै जिल्लामा १२ वटा प्रहरी टोली परिचालन गरिनेछ । साथै कुनै नागरिकलाई जुनसुकै बेलामा प्रहरीको सहयोग चाहिएमा १०० मा सम्पर्क गर्न पनि प्रहरी वरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया