तुलसी गौशालाको भवन निर्माण कार्य अन्तिम चरणमा

 तुलसीपुर, १३ असोज । तुलसीपुर १३ अम्वापुरमा निर्माणाधिन अवस्थामा रहेको तुलसी गौशालाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउद्देश्यिय सहकारी संस्था मार्फत निर्माण हुन लागेको गौशालाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण समितिका संयोजक हरिहर पौडेलले जानकारी दिएका छन् ।

भवनको वाल निर्माण,भित्रि भागमा फिनिसिंङ,ट्रस र डुर निर्माण कार्य सम्पन्न भईसकेको संयोजक पौडेलले जानकारी दिएका छन् ।
सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका पौडेलका अनुसार अब छानो लगाउन बाँकी रहेको छ । श्रेष्ता र ऐलानी गरी झन्डै सात विगाहा क्षेत्रफल रहेको जग्गामा गौशाला निर्माण गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएको झन्डै तिन विगाहा र ऐलानी क्षेत्र ४ विगाहा गरी झन्डै सात विगाहा जमिनमा गएको साउन १५ गते भवन निर्माणको शिलान्यास गरिएको संयोजक पौडेलले बताएका छन् ।तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र छाडा पशुचौपायलाई व्यवस्थापन तथा संरक्षण गर्ने उद्देश्यका साथ पाँच सय क्षमताको भवन निर्माण गरिएको हो ।

भवन निर्माण पश्चात कामदार(हेरालु)राखेर छाडा पशुचौपायलाई एकिकृत व्यवस्थापन गरिनेछ ।खासगरी पशुचौपायलाई धार्मिक र सामाजिक संस्कार संग जोडेर संरक्षण गर्नुको साथै गोबरबाट कम्पोष्ट मल र मुत्र प्रसोधन गरी आयुवेर्दिक औषधीका रुपमा तयार गर्ने लक्ष्य रहेको संयोजक पौडेलले बताएका छन् । यस्तैगरी धार्मिक र सामाजिक संस्कार अनुसार गाई र गोरुको छुट्टाछुट्टै महत्व भएकाले गौशालालाई अवलोकन गर्ने बाताबरणको विकास गरिने उनको भनाई छ ।

आफुहरु गौशाला निर्माण गरे पनि सन्चालन तथा व्यवस्थापन गर्न चुनौतीपुर्ण हुने भएकाले सवैको सहयोगको आबश्यक पर्ने उनले बताएका छन् । आफुहरुले यसो गर्दा पशुचौपाय छाडा छोड्ने प्रबृति बढ्न सक्ने भन्दै उनले यस प्रति सवै सचेत हुनुपर्ने बताएका छन् ।दुध दिदा सम्म दुध खाएर गाई छोड्ने र खेत जोतेर बुढो भएको गोरुलाई छाडा छोड्ने प्रबृति गलत भएको उनको भनाई छ ।

यसका लागी स्थानिय सरकार देखी टोल विकास संस्थाहरुले समेत पशुचौपाय छाडा छोड्ने जोसुकैलाई पनि रोक्नु पर्ने उनले बताएका छन् ।स्वार्थ पुरा गरेर जथाभावी पशुचौपाय छाडा छोड्ने प्रबृत्तिलाई सवैले रोक्नुपर्ने उनको भनाई छ ।स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाले यस विषयमा नियमन संयन्त्र बनाउनु पर्ने उनले बताएका छन् । छाडा पशुचौपायकै कारण किसानहरुले लगाएको कृषि बाली सखाब पार्नुको साथै बजार क्षेत्रको सडकमा दुर्घटनाको जोखिम पनि बढेको छ ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया