दाङमा लामो दुरीका सवारी साधनलाई यात्रु पाउनै समस्या

तुलसीपुर ,११ असोज । सरकारले गएको असोज १ गते देखी लामो तथा छोटो दुरीका सम्पुर्ण सार्वजनिक यातायातका सवारी साधन चल्न दिएको छ । सरकारले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी साधन चलाउन भनेपछि दाङ तुलसीपुरका बस चालक चुर्ण बहादुर विकले बल्लतल्ल गाडी चलाउन पाउनु भएको छ । कोरोना माहामारीका कारण गएको चैत ११ देखी भएको बन्दाबन्दीकै कारण महिनौ रोकिएको गाडी चलाउन पाएपछि उनी खुसी पनि भए ।

तर गाडी चलेपनि यात्रु नपाएपछि उनी फेरी समस्यामा परेका छन् । दाङ तुलसीपुर देखी सल्यानको टाड्के रुटमा गाडी चलाउदै आएका विकले अहिले यात्रु नपाएपछि दुई /तिन पटक नम्वर मिस गरेको बताएका छन् ।सरकारले सार्वजनिक सवारी साधनको सिट क्षमता भन्दा आधा यात्रु राख्ने भनेपनि अहिले आधा यात्रु पनि नपाएपछि पटकपटक गाडी रोकिएको उनी बताउन्छन् । उक्त रुटमा चार÷पाँच वटा गाडी चल्ने भएता पनि यात्रु नहुदा पटकपटक रोकिने गरेको उनले बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको श्रम विभागका केन्द्रिय सदस्य समेत रहेका विकले खासै यात्रु नै नपाईने भएपछि पटकपटक गाडी रोकिदा आम्दानी समेत नभएको बताएका छन् । यस्तैगरी अर्का चालक यज्ञ बहादुर बोहोराको पनि उस्तै दुखसो छ ।लामो दुरीमा अहिले यात्रुको अभाव हुने गरेको उनी बताउँछन् ।दाङ देखी काठमाडौ रुटमा बस चलाउन थालेका उनले आधा यात्रु पनि नभएपछि गाडी चलाउने की नचलाउने भन्ने दुविदामा परेको उनको भनाई छ । दाङ काठमाडौ रुटमा गाडी चलाउदा धेरै वा थोरै यात्रु लगेपनि गाडीको खर्च एकै हुने उनले बताएका छन् । त्यसले गर्दा आधा यात्रु भन्दा कम यात्रु लगेर काठमाडौ जादा बढि घाटा लाग्ने उनको भनाई छ ।

गएको चैत देखी अहिले सम्म पहिलो पटक नम्वर लगाउला भनेको छु उनले भने तर यात्रु नहुने भएपछि स्थगित गर्नुपर्ला । उनीहरु एउटा पात्र मात्रै हुन् । लामो दुरीमा अहिले यात्रुहरु सोचेजति पाउन मुस्किल परेको छ । कोरोना त्रासले गर्दा कतिपय मानिसहरु यात्रा गर्न छाडेका छन् । अत्यआवश्यक बाहेक अन्य कामका लागी मानिसहरु अहिले यात्रा गर्न छाडेपछि लामो दुरीमा सन्चालन हुने सवारी साधनमा कम यात्रु हुने गरेको छ ।

त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि तुलसीपुर बसपार्क काउन्टर लेखा ईन्चार्ज राजेस पुनले लामो दुरीमा सन्चालन हुने सवारी साधन निकै कम चलेको बताएका छन् । विगतमा तुलसीपुर बसपार्कबाट लामो दुरीका दैनिक १४÷१४ वटा यात्रुबाहक गाडी जिल्ला बाहिरिने गरेका थिए । तर अहिले दैनिक २÷४ वटा मात्रै यात्रुबाहक गाडी बसपार्कबाट जिल्ला बाहिरिने गरेको उनले बताएका छन् । यसले गर्दा यातायात व्यवसायी निकै समस्या परेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया