तुलसीपुरमा शुक्रवार छड्के अनुगमन, एउटै उद्योगलाई दुई लाख रुपैया जरिवाना

तुलसीपुर २ असोज । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेको अघुवाई तथा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको समन्वयमा शुक्रवार दाङको तुलसीपुरका विभिन्न उद्योग तथा पसलमा अनुगमन गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका संयोजक योगेन्द्र कुमार पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले तुलसीपुर ५ स्थित रिजाल बन्धु तेल उद्योगमा खानीतेलमा चेकजाँच गर्दा नापतौल र गुणस्तर कम भएको पाईएको छ । चिरञ्जिवि रिजालले सन्चालन गरेको उद्योगको नवीकरण नभएको समेत पाईएको छ ।

टोलीले उद्योगले उत्पादन गरेको सौगात ब्राण्डको तोरीको तेल प्याकिङ गरेको ९४८ पेटी मध्ये एउटा प्याकिङ पेटीमा रहेको दश वटा तेलको बोतल नापतौल गर्दा दुई वटा बोतलमा २० मिलिलिटर र ७ वटामा १० मिलिलिटर कम परिमाण रहेको पाईएको थियो भने एउटा बोतलमा मात्रै सहि परिमाणमा रहेको पाईएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका संयोजक पौडेलले जानकारी दिएका छन् ।

उद्योगमा कमी कमजोरी फेला पारेपछि अनुगमन टोलीले आगामी दिनमा सुधार गर्न सुझाव समेत दिएको छ भने उत्पादन बस्तुमा परिमाण र गुणस्तर कम भएकाले उद्योगलाई दुई लाख जरिवाना समेत गरिएको छ । उद्योग सन्चालकलाई सामान्य तया एक हप्तामा जरिवाना दाखिला गर्न निर्देशन दिईएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका संयोजक पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया