अवरुद्ध बिजौरी छिल्लीकोट जोड्ने पर्यटन मार्ग बन्ने पक्का

तुलसीपुर, २७ भदौ । अवरुद्ध बिजौरीदेखि हाडिमे, थानगाउँ, खरखरे, स्यालापानी हुँदै छिल्लीकोट जोड्ने पर्यटन मार्ग सडक बन्ने भएको छ । शनिबार बसेको सर्वदलिय सर्वपक्षीय भेलामा सडक निर्माणका लागि सामुदायिक वन उपभोक्ता समिति र स्थानीयवासी सहमतिमा आएपछि पर्यटन मार्ग बन्ने निश्चित भएको हो ।

विवादका कारण समयमै सडक निर्माणका काम सुरु नहुँदा सुरुको बर्ष (३बर्ष अघि) प्रदेश सरकारबाट आएको १५ करोड रुपैयाँ फ्रिज भएको थियो । बहुबर्षीय पर्यटन मार्ग सडकका लागि यस बर्ष १ करोड रुपैयाँ प्रदेश सरकारबाट विनियोजन गरिएको छ ।

अघिल्लो बर्ष आएको १० करोडले सोही सडकको बिजौरीदेखि थानगाउँ र कुइरेपानीदेखि भित्रीखोलासम्म काम भइरहेको तुलसीपुर उपमहानगरपालिका योजना शाखा अधिकृत मस्त बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिचभागमा भने विवादका कारण रोकिएको छ ।

बर्षेनी बजेट विनियोजन भएपनि विवादकै कारण बिचमा काम नभएर अन्यत्र बन्ने अवस्था भएपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्यम पाण्डेको पहलमा सर्वपक्षीय भेला बसेको हो ।

‘पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना वोकेको छिल्लीकोट, संग्राममा रहेको युद्ध संग्राहलय, कालिका मालिका मन्दिर लगाएतका ऐतिहासीक सम्पदाहरु छन्,’ नगर प्रमुख पाण्डेले भन्नुभयो–‘ तर त्यहाँ जानलाई सडक त चाहियो । सडक विना त त्यहाँको विकास हुँदैन् । त्यसैले सबैलाई बोलाएर छलफल गरिएको हो ।’

भेलाले सडक निर्माणका लागि १९ नम्बर वडाध्यक्ष राम बहादुर योगीको अध्यक्षतामा सडक निर्माणका लागि सहजीकरण समिति गठन गरेको अधिकृत थापाले जानकारी दिनुभयो । समितिमा सामुदायिक वन समूहका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, तुलसीपुर उपमहानगरपालिका योजना शाखा प्रमुख सदस्य रहने छन् । समितिले सडक निर्माणका क्रममा सामुदायिक वन भित्र रुखहरु हटाउनु परेमा प्रकृया पु¥याएर हटाउने र आवश्यकताका आधारमा सोही वन समूहका उपभोक्तालाई दिनका लागि समेत सहजीकरण गर्ने छ ।

बिजौरी देखि छिल्लीकोटसम्म करिब ४ किलोमिटरको दुरी रहेको पर्यटनमार्ग सडक अन्तर्गत करिब ८ सय मिट क्षेत्र सामुदायिक वन भित्र पर्दछ । पकरे, खानीपानी र स्यालापानी सामुदायिक वन समूहले आफ्नो क्षेत्रभित्र पर्ने रुखहरु कटान गर्न नदिने बताएपछि काम अवरुद्ध भएको थियो ।

१९ नम्बर वडाध्यक्ष रामबहादुर योगीको अध्यक्षता एवं नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको सर्वदलिय सर्वपक्षीय भेलामा नगर प्रवक्ता श्याम डाँगी, १८ नम्बर वडाध्यक्ष माधव वली, कार्यपालिका सदस्य देवराज विश्वकर्मा, नेपाली कांग्रेसका हिमबहादुर डाँगी, पकरे सामुदायिक वनका अध्यक्ष फुलराम चौधरी, खानेपानी सामुदायिक वनका चन्द्रा खड्का, स्यालापानी सामुदायिक वनका अध्यक्ष नन्दराम रोका लगाएते सडक बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
प्रतिक्रिया