यातायात मजदुरहरूको समस्या समाधान छिटै हुन्छ

काठमाडौ, २३ असार ।

कोरोना भाईरस रोकथाम तथा नियनत्रणका लागी सरकारले गरेको लकडाउनका कारण यातायात क्षेत्र बन्द रहेको छ । विशेषगरी सार्वजनिक सवारीका साधन ठप्प भएको चार महिना वितिसकेको छ । जसले गर्दा हजारौ यातायात सवारी साधनमा कार्यरत लाखौ यातायात मजदुरहरु समस्यामा परेका छन् । उनीहरुको अझै समस्या समाधान हुन सकेको छैन । यस विषयमा सरकार पक्ष संग निरन्तर छलफल भईरहेको छ । तर अहिले सम्म ठोस निकर्ष निस्किएको छैन । देशभरका यातायात मजदुरहरूको समस्या समाधानका लागि आफुहरुले निरन्तर प्रयास गरीरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले बताएका छन् ।

आफुहरुले निरन्तर राज्य पक्ष संग बार्ता र छलफल गरीरहेको बताउदै उनले अब मजदुरहरुको समस्या समाधान चाडै नै हुने दावी गरेका छन् । यसैक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघको तर्फबाट संघीय संसद, बिकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का संग विभिन्न चरणमा छलफल हुदै आएको पनि उनले बताएका छन् । साथै यातायात मजदुर संगठनको तर्फबाट विभिन्न माग पत्र पेश गदै सरकारको ध्यानाकर्षण गराईएको छ ।
ध्यानाकर्षण पत्रमा तत्काल विशेषगरी ट्याक्सीका विषयमा निति बनाएर सञ्चालन गर्नुपर्ने, अन्य सार्वजनिक सवारी साधनमा काम गर्ने मजदुरहरूलाई स्वास्थ्य र भविष्यप्रतिको सुरक्षाको व्यवस्था गरेर काम गर्ने व्यवस्था मिलाउनुपर्ने र कोरोनाको जोखीमलाई हेरेर अझै लकडाउनलाई निरन्तरता दिने हो भने मजदुरहरूलाई राहतको व्यवस्था गर्नुपर्ने माग राखेको उनको भनाई छ । तिनवटै संगठनहरुको पहललाई आत्मसाथ गर्दै बिकास समितिले उपत्यकामा सञ्चालित ट्याक्सीहरुलाई सञ्चालन गर्न दिने गरि सरकारलाई निर्देशन गरिसकेकाले यातायात मजदुरहरुको समस्या समाधान चाडै हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
प्रतिक्रिया