एमालेले खाता खोल्यो, काभ्रेबाट विजयी शुरुवात

काठमाण्डौ ,२० बैशाख ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काभ्रेबाट विजयी शुरुवात गरेका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तासँगै एमालेले विजयी सुरुवात गरेको हो । एमालेले मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् ।

२ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् । दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमालेजनले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ नारा लगाउँदै उनको प्रशंसा गरेका छन् ।

सिन्धुपाल्चोकमा पनि विजयी सुरुवात

यसैबीच सिन्धुपाल्चोक जिल्लामा पनि एमालेले विजय सुरुआत गरेको खबर प्राप्त भएको छ । स्थानीय नेताका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णा कुमारी नेपाली र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्बाचित भएका छन् ।

डोल्पामा सिंगो प्यानल नै विजयी

डोल्पाको शेफोक्सुडो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका टसी टुण्डुक गुरूङ निर्बिरोध निर्बाचित भएका छन् । सो गाउपालिकामा उपाध्यक्ष पदमा बाहेक अरू सबै पदहरूमा एमालेका उम्मेदवारहरू निर्बिरोध निर्बाचित भएका छन् ।

दैनिक नेपाल

प्रकाशित मिति : २०७४ बैशाख २० गते बुधवार
प्रतिक्रिया