अन्सारी हत्या प्रकरण :१६ जना कारागार चलान, १२ जना फरार

तुलसीपुर, १४ बैशाख । जुनेद अन्सारीको अपहरण पछि हत्या गरेको अभियोग र किर्तेमा संलग्न भएका १६ जना कारागार चलान भएका छन् । भारतको बहराईज थाना मोतिपुर घर भई बाँकेको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरमा डेरा गरी बस्ने अन्सारीको २०७५ माघ २१ गते अपहरण पछि हत्या भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । नेपालगंज उपमहानगरपालिका ३ बस्ने खैरुल हसन अन्सारीले माघ २१ गते चारबाहिनीचोक नेपागन्ज बोलाई सोहि ठाउँबाट अपहरण गरी भारतको बाबागंज एरियामा लगेको र २३ गते सोहि ठाउँमा उनी मृत फेला परेका थिए ।

सक्कली नक्कली कागजपत्रको विषयमा उनको अपहरण पछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको खुल्न आएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।जिल्ला अदालत बाँकेले अन्सारीको अपहरण गरी हत्यामा संलग्नता भएको भन्दै किर्ते कागज गर्ने सरकारी अधिकारी सहित १६ जनालाई ०७६ बैशाख १२ गते पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको छ ।जसमा कागज किर्ते गर्ने मालपोत अधिकृत लगायत अन्य कर्मचारी र लेखन्दास समेत रहेका छन् ।

यस्तै हत्या घटनामा संलग्न एक जना भारतीय नागरिक सहित १२ जना फरार रहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छन । उनीहरुले मालपोत कार्यालयका कर्मचारीहरु संग मिलेमतो गरी जग्गाको कागजपत्र काम गदै आएका थिए । बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता(सक्कल कागजात) खैरुल बाट मृतक अन्सारीले आफ्नो कोठामा राख्ने गरेकोमा खैरुलले अन्सारी संग उक्त जग्गाका कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गरेता पनि जुनेद अन्सारीले नदिएपछि घटना घटेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज ३ का खैरुल हसन अंन्सारी,सज्जन सैयाद ,लेखनदास बिरु भनिने बृहस्पती खड्का,बर्दियाका पप्पु धोबी, तत्काल मालपोत कार्यालय बाँकेका मालपोत अधिकृत हाल जिल्ला हुलाक कार्यालयका पुष्पा श्रेष्ठ, मालपोत कार्यालय बर्दियाका अधिकृत राम कुमार रोका, भुमी सुधार तथा मालपोत कार्यालय बाँकेका नासुहरु टंक प्रसाद शर्मा, राम बहादुर खड्का,रुद्र बहादुर देवकोटा, कृष्णलाल शर्मा , मान बहादुर के.सी., खरिदारहरु यज्ञश्वर वली ,भुमीराज पोख्रेल, शुसिल रिजाज,लक्ष्मी मल्ल, कार्यलय सहयोगी अन्तराम चौधरी रहेका छन् ।१९ जना पक्राउ परेकोमा मालपोत कार्यालय बर्दियाका खरिदार तुल्सारानी थारु ,मालपोत कार्यालय बाँकेका खरिदार संजय कुमार ठाकुर र प्रेम बहादुर चन्द ठकुरी एक लाख रुपैया धरौटीमा छुटेका छन् ।
१२ जना फरार
किर्ते कागज गरेको अभियोगमा १२ जना फरार रहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । उनीहरुको ठुलो संख्यामा एक समुह बनाई किर्ते कागज गदै आएको अनुसन्धानबाट खुल्न आएको छ । जसमा भुमि सुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख कृष्ण प्रसाद ज्ञवाली , कैलालीका प्रमुख दिर्घ बहादुर पोख्रेल, हेमराज शर्मा, अशोक कुमार भट्टराई, कुलानन्द राउत, रबिन्द्र थापा, किशोर कुमार रिजाल,सुर्य प्रसाद उपाध्याय, बच्छराज लोनिया, सब्बिर अली सिद्दिकी, अकवर अली खाँ र अवधेस ठाकुर रहेका छन् । उनीहरुको खोजीकार्य भईरहेको बताईएको छ । साथै कर्मचारीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान भईरहेको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया