दाङ,१२ कात्तिक । चाडपर्वको मौसम र जाडोयाम सुरु भएसँगै बजारमा अन्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म (होलसेल) मूल्य बढाएको छ। संघले एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँ तथा सानो अन्डाको मूल्य १०० रुपैयाँले वृद्धि गरेको हो। यसअघि कात्तिक ६ गते काठमाडौंमा बसेको बैठकले निर्धारण गरेको मूल्यलाई ६ दिनमै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट नयाँ समर्थन मूल्य तोकेको हो।
संघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार १४.५ देखि १४.८ किलो तौल भएको एक्सएल अन्डाको मूल्य प्रतिपेटी ३ हजार ७०० रुपैयाँबाट बढेर ३ हजार ९०० रुपैयाँ पुगेको छ। त्यस्तै, १३.५ देखि १३.८ किलो तौल भएको ठूलो अन्डाको मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, १२.५ देखि १२.८ किलो तौल भएको मिडियम अन्डाको मूल्य प्रतिपेटी ३ हजार ५०० रुपैयाँबाट बढेर ३ हजार ७०० रुपैयाँ पुगेको छ। ११ किलोभन्दा बढी तौल भएको सानो अन्डाको मूल्य भने ३ हजार १०० रुपैयाँबाट बढेर ३ हजार २०० रुपैयाँ कायम गरिएको संघले जनाएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार चिसो मौसम सुरु हुनुका साथै चाडपर्वका कारण बजारमा अन्डाको माग बढेको छ। उत्पादनको तुलनामा खपत उच्च भएपछि मागअनुसार आपूर्ति व्यवस्थापन गर्न र किसानलाई उत्पादन लागतअनुसार उचित मूल्य उपलब्ध गराउन नयाँ समर्थन मूल्य निर्धारण गरिएको उनले बताएका छन्। होलसेल मूल्य बढाइए पनि उपभोक्ताले खुद्रा बजारमा तिर्ने मूल्य भने यथावत् राखिएको संघले जनाएको छ। निर्धारित मूल्यअनुसार खुद्रा पसलमा ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा दुई गोटाको ४५ रुपैयाँ कायम गरिएको छ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।