२०८३ असोज २६ गते सोमवार

सल्यानमा दुई मोटरसाइकल आपसमा  ठोक्किँदा तीन जना घाइते

सल्यान,  २६ असोज । सल्यानको शारदा नगरपालिका–७ भट्टाचौरस्थित राप्ती राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। सोमबार बिहान करिब ९ : ३० बजे ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको एनएस मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार मधेश प्रदेश–०३–०४७ प ८५१२ नम्बरको बुलेट मोटरसाइकल र रा.५ प ९५९८ नम्बरको एनएस मोटरसाइकल ठोक्किँदा तीन जना पुरुष घाइते भएका हुन्। दुर्घटनामा बुलेट मोटरसाइकल चालक बागचौर नगरपालिका–११ बाफुखोलाका ३४ वर्षीय विवेक बुढाको छाती र दाहिने आँखामाथि चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय ओमकार बुढाको दाहिने आँखामा सामान्य चोट लागेको छ।

त्यस्तै, एनएस मोटरसाइकल चालक पश्चिम रुकुमको मुसिकोट नगरपालिका–६ निवासी ३८ वर्षीय गिरभान पुनको दाहिने खुट्टा भाँचिएको छ भने दाहिने हातको माझी औँलामा समेत चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि श्रीनगर बजारस्थित सल्यान कर्णाली अस्पताल प्रा.लि.मा लगिएको छ। गिरभान पुनको उपचारमा आफन्त पहलमान बस्नेत संलग्न रहेको जनाइएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरचौर, सल्यानबाट प्रहरी नायब निरीक्षक भीमबहादुर वलीको कमान्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा दुवै मोटरसाइकलमा क्षति पुगेको छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनास्थल ढोरचौर प्रहरी चौकीबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ।

प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) साथमा थिएन। उनीहरूले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।