दाङ, २६ भदौ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीमाथि छानबिन सुरु गरिएको छ । सल्यानमा पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको अनुसन्धानमा वास्तविक चालकलाई उन्मुक्ति दिन ‘नक्कली चालक’ खडा गरिएको आरोपमा डिएसपी केसी माथि अनुसन्धान सुरु गरिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटनाको अनुसन्धान र त्यसक्रममा प्रहरीबाट भएको भनिएको प्रक्रियाबारे छानबिन गर्न छानबिन समिति गठन गरेपछि घटना बाहिर आएको हो । स्रोतका अनुसार दुर्घटनामा संलग्न सवारीका वास्तविक चालक भनिएका देबबहादुर विक उर्फ वीरबहादुर नेपालीलाई जोगाउन चालक अनुमतिपत्र भएका कर्णबहादुर खड्कालाई अघि सारिएको आरोप छ । यसका लागि करिब १० लाख रुपैयाँ आर्थिक लेनदेन भएको दाबीसमेत स्रोतले गरेको छ । यद्यपि, उक्त रकमको पूर्ण पुष्टि भने भइसकेको छैन । प्रहरी स्रोतका अनुसार बैंक खाताबाट करिब साढे तीन लाख रुपैयाँ कारोबार भएको देखिएको छ ।
२०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बिहान पौने ४ बजे दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । दुर्घटनामा रुकुम पश्चिम बाफिकोट गाउँपालिका–४ निवासी २७ वर्षका प्रकाश केसी, वडा नम्बर ५ निवासी ६८ वर्षकी पबि केसी, २९ वर्षका सशीधर भन्ने ससीनन्द केसी, २८ वर्षकी बिमा भन्ने निशा केसी र २७ वर्षका ठगेन्द्र केसीको मृत्यु भएको थियो ।
यसरी भएको थियो दुर्घटना
घटनाको अनुसन्धानका क्रममा वास्तविक चालकसँग चालक अनुमतिपत्र नभएको अवस्थामा लाइसेन्स भएका कर्णबहादुर खड्कालाई चालकका रूपमा खडा गरिएको थियो । यही विषयमा प्रदेश प्रहरीले अनुसन्धान अघि बढाएको हो । कपुरकोटमा घटना हुँदा खडका रुकुमम खलङ्गामा गर्भवती श्रीमतिको स्याहार सुसारका लागि गाडी चलाउन छाडेर घरमै बसेको श्रीमती बिमला खडकाले बताउनुभयो । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था जोखिममा रहेकाले चिकित्सकले सल्लाह अनुसार खडकाले रुकुमका न्यूटन बुढाको गाडी चलाउन छाडेर खडका घरमै बसेको बिमलाले बताउनुभयो । खडकाले श्रेष्ठको अल्फावेट नखुलेको ४३६ नम्बरको जीप खलङ्गाबाट पूर्वी रुकुम चलाउँदै आउनुभएको थियो ।
के भन्छ कर्णली प्रहरी प्रदेश ?
प्रदेश प्रहरी कार्यालयले भदौ १६ गते दंगा प्रहरी नियन्त्रण गणका एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । उनिहरु दोषी देखिएमा कानुन अनुसार कारबाही हुनेमा कुनै दुइमत नभएको प्रवक्ता राठौरले बताउनुभयो । दोषी उम्किनु हुँदैन निर्दोष फस्नु हुँदैन उहाँले भन्नुभयो । समितिले सल्यान कारागारमा रहेका कर्णबहादुर खड्का, गाडीधनी वसन्त केसी, सल्यानका यातायात व्यवसायी न्युटन श्रेष्ठसँग सोधपुछ गरेको छ । विचौलियाको काम न्यूटन श्रेष्ठले गरेको बुझीएको छ । तर व्यवसायी न्युटनले भने रुकुम समितिका सरोज देवकोटको आग्रहमा सहजीकरण मात्रै गरेको बताउनुभयो । ‘सरोजले सहयोग गर्नुप¥यो भनेपछि व्यवसाीको हिसावले सहयोग मात्रै गरेको हुँ । ऊ वास्तविक चालक होकी डुब्लीकेट हो, त्यो अनुसन्धानले भन्ला् । दुःख पाउन लेखेपछि यस्तै हुन्छ ।’ श्रेष्ठले भन्नुभयो ।
त्यसैगरी घटनामा इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ पनि मुछिएको प्रहरीले बताएको छ । गुरुङले घटनाको अनुसन्धान अधिकृतका रूपमा काम गर्नुभएको थियो । गुरुङ हाल जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कार्यरत हुनुहुन्छ ।
के भन्छन डिएसपी केसी ?
उता, डीएसपी हेम बहादुर केसीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्नुभयो । आफूलाई बदनाम गराउने उद्देश्यले षड्यन्त्र गरिएको दाबी गर्दै दुर्घटनामा संलग्न चालकका रूपमा दुई जनालाई नै प्रहरीले अदालतसमक्ष पेस गरेको उहाँको दाबी छ । ‘नाटक जे पनि गर्छन्, हेर्दै जाऔँ। जसले गर्छ, उसैको पर्दाफास हुन्छ । जसरी हुन्छ मलाई सक्न खोजेका हुन्,’ केसीले भन्नुभयो, ‘दुवै ड्राइभर बिक र खडकालाई पेस गरेको हो ।’ डिएसपी केसीले भन्नुभयो । हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डिएसपी केसी २०८२ साउन ५ गतेदेखि २०८३ जेठ ८ गतेसम्म जिल्ला प्रहरी कार्यालय सल्यानको प्रमुखमा रुपमा काम गर्नुभएको थियो ।कुरा कसरी आयो बाहिर ?
दुर्घटना भएको १५ दिपछि रुकुमको खलंगामा घरमै बसेका कर्णबहादुर खडकालाई भेट्न वसन्त केसी र न्यूटन बुढा पुग्नुभयो । न्यूटन बुढा भन्ने व्यक्ती खडकाले चलाउने गाडी र वसन्त केसी दुर्घटनामा परेको गाडीका मालिक हुनुहुन्छ । यो सबै काम रुकुम समितिका सरोज देवकोटाको योजनामा भएको थियो । बुढा र केसीले खडकालाई २०/२२ दिनमा छुटाउँछौ भन्दै विभिन्न आर्थिक प्रलोभन देखाएर मनाए । खडकाको एकातिर आर्थिक अवस्था निकै कम्जोर र अर्कोतर्फ गर्भवती श्रीमती र बच्चाको अस्था निकै जोखिममा भएकाले २०/२२ दिन बसेर आउन पाइन्छ र आर्थिक लाभ पनि हुन्छ भने ठिकै छ भन्ने मनस्थितमा पुग्नुभयो ।
सहमति अनुसार वास्तविक चालकलाई सहचालक र खडकालाई नक्कली चालकका रुपमा तयार पारियो । किनकी वास्तकविक चालकसंग लाइसेन्स थिएन । जस्का कारण योजनावद्ध तरिकाले प्रहरीको मिलोमतोमा सबै तानाबुना बुनियो । २८ गते रुकुमबाट सल्यान ल्याएर २९ गते प्रहरीको सम्पर्क लगियो । त्यसपछि प्रहरीले सवारी ज्यान मुद्दा अघि बढायो ।
वास्तविक चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाड निवासी २७ वर्षका देबहादुर बिक हुनुहुन्छ भने नक्कली चालक सल्यानको कपुरकोट गाउँपालिका–३ कपुरकोट घर भइ हाल रुकुम पश्चिमको खलंगमा बस्दै आउनुभएको छ । मुद्दाको प्रकृया अघि बढ्दै जाँदा सल्यान जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको एकल इजलाशले यातायात व्यवसायी र प्रहरीको मिलोमतोमा भएको योजना विपरित फैसला सुनायो ।
अदालतले २०८२ माघ ७ गते कर्ण बहादुर खडकालाई सवारी तथा यातायत व्यवस्था ऐन २०४९ को दफा १६१(२) बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवाना गर्ने फैसला ग¥यो । त्यसैगरी बिकलाई भने अदालतले सफाई दियो । यसरी कर्णबहादुर खडकासंग गरिएको सहमति विपरित फैसला आएपछि योजनावद्ध रुपमा निर्दोष मान्छेलाई प्रहरीले फसाएको भन्दै गाँइगुँइ कुराहरु बाहिर आउन थाल्यो ।
यो कुरा यतिमा मात्रै सिमिति भएन घटनाको फेरिस्त सहित हेलो सरकार, गृहमन्त्रालयमा उजुरी प¥यो । गृहमन्त्रालयबाट प्रहरी प्रधान कार्यालय हुँदै कर्णाली प्रदेशलाई छानबिन समिति गठन गरेर घटनाको वास्तविकता बाहिर ल्याउन निर्देशन आयो । सोही मुताविक कर्णाली प्रदेश प्रहरीले छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएपछि घटनाको बास्तविकता बाहिर अयो ।
अदालतमा यस्तो थियो बयान
यसैबीच अदालतमा नक्कली चालक र सक्कली चालकले एकै प्रकारको बयान दिएका छन् । ‘कपुरकोट बजार कटि सकेपछि चोरखोला नजिकै २०८२ असोज १२ गते बिहान ३ः४५बजेको समयमा मलाई पिसाबले च्यापेकोले पिसाब फेर्न भनी स्टार्टमै गाडी रोकी सहचालक देब बहादुर वि.क.भन्ने विरेन्द्र नेपालीलाई ओट हाल भनी छिटो छिटो गाडीबाट झरेर गाडी पछाडितिर गईपिसाब फेर्न लागेको थिएँ । सहचालकले ओट हाल्नको लागि मोबाइलको लाइटबालेर ढुङ्गा खोज्दै थियो। सोही बेला अकस्मात् गाडी अगाडि गुडेपछि पिसाब रोक्ने प्रयास गरेर गाडी पछिपछि दगुरेर सहचालकलाई गाडी रोक भनेर कराएँ । देव वि.क.भन्ने विरेन्द्र नेपाली दगुर्दै गएर ड्राईभरतर्फको झ्यालमा झुण्डिएर गाडी रोक्न खोज्यो तर भित्र पसेर रोक्न सकेन।
गाडी डिलमा पुगिसकेको हुनाले सहचालक बाटो मुनी हाम फाले र गाडी बाटो मुनी जोडले खस्यो। म आत्तिएँ,मलाई डर लाग्यो। साहुलाई फोन गर्न मेरो मोबाइल थिएन। गाडीमा भइरहने गाडीको मोबाइल गाडीसँगै खस्यो, म रातभर जंगलमा लुकेर बसेँ, प्रहरी र साहुलाई कसले खबर गर्यो थाहा भएन । उज्यालो हुन थालेपछि म सुटुक्क कपुरकोट आएँ ।
३ जनाको मृत्यु भएको र बाँकी ३ जना घाइतेलाई प्रहरी र स्थानीय मिलेर उपचारको लागि नेपालगञ्जतर्फ लगेको भनी सुनी थाहा पाएँ । म झन डराउन थालेँ, के गरौँ कसो गरौँ भयो। त्यसपछि मेरो कोठा रहेको हुनाले भागेर रुकुम गएको हुँ। उक्त लु २ ख ६५०२ नम्वरको फोर्स गाडी मैले नै चलाएर लगि उक्त स्थानमा पिसाब फेर्न रोकेर राखेको अवस्थामा एक्कासी गुडी भिरबाट खसी दुर्घटना भएको हो ।’ नक्कली चालक भनि दाबी गरिएका खडकाले भन्नुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।