दाङ, ४ मङ्सिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा प्याब्सनले योगदान दिएको बताएका छन् । प्याब्सन दाङको दोस्रो जिल्ला परिषद्को भेलालाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले प्याब्सनका सदस्य विद्यालयले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्दै आएको बताएका हुन् ।
‘निजी विद्यालयले देशको शैक्षिक गुणस्तरको उन्नयनमा योगदान दिएका छन् । राज्यले यसको मूल्याङुकन गर्न आवश्यक छ । निजी विद्यालयलाई राज्यले अभिन्न अङ्गका रुपमा स्वीकार्न जरुरी छ ।’ अधिकारीले थपे, ‘निजी विद्यालयलाई सँगसँगै लिएर राज्य अगाडि बढोस् । राज्यसँग हामी सहकार्य गर्न तयार छौँ ।’
प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपानेले निजी विद्यालयलका समस्यालाई राज्यले सम्बोधन गर्न आवश्यक रहेको बताए । प्याब्सन केन्द्रीय महासचिव आरबी कटवालले सङ्गठनलाई सुदृढ बनाउन निर्देशन दिएका थिए । प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले लुम्बिनी प्रदेशका प्याब्सनमा आवद्ध रहेका विद्यालयको स्तरोन्नतिका लागि प्याब्सनले काम गर्दै आएको बताए ।
प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीले प्याब्सनले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सङ्गठनलाई सुदृढ बनाउन एकता र सहकार्यको आवश्यकता रहेको बताए । प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले प्याब्सन शिक्षाका क्षेत्रमा अभिभावक बन्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नयाँ सदस्य विद्यालयहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । लुम्बिनी प्रदेशभित्रको रुकुमपूर्वमा बिस्तार भएको प्याब्सन रुकुमपूर्वलाई केन्द्रीय प्याब्सनले सम्बन्धनपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम पौष ३ र ४ सञ्चालन गरिएको थियो । बिहीबार ३ गते प्रधानाध्यापकलाई प्रशिक्षण कार्यक्रम सम्पनन भएको थियो । पौष ४ गते जिल्ला परिषद् भेला, परिवर्तित सन्दर्भ : परीक्षणमा नेतृत्व शीर्षकमा कन्क्लेभ सम्पन्न भएको थियो ।
कन्क्लेभमा केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारी, महासचिव आरबी कटवाल, लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे र पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारी वक्ताका रुपमा रहेका थिए भने निवर्तमान केन्द्रीय सचिव यादव गिरीले गरेका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष शोभाखर भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम के.सी.ले गरेका थिए ।



