२०८२ मङ्सिर १९ गते शुक्रवार

राप्ती आँखा अस्पतालमा सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माण तीव्र गतिमा

तुलसीपुर । नेपाल नेत्रज्योति संघअन्तर्गत राप्ती आँखा अस्पतालमा निर्माणाधीन सुविधा सम्पन्न शल्यक्रिया भवनको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। तुलसीपुर उपमहानगरपालिका र भारतीय राजदूतावासको लागत साझेदारीमा करिब साढे ४ करोड रुपैयाँमा बन्न लागेको भवनको त्रिपक्षीय सम्झौता गत माघमा भएपछि हालसम्म ६० प्रतिशत निर्माणकार्य सम्पन्न भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले जानकारी दिए।

उनका अनुसार निरन्तर प्रयासपछि भारतीय राजदूतावासबाट स्वीकृति पाएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सम्झौता भई उपमहानगरपालिकाले टेण्डर प्रक्रिया अगाडि बढाएको र त्यसपछि निर्माण कार्य सुरु भएको हो।

भारतीय राजदूतावासको आर्थिक सहयोग, उपमहानगरपालिका तथा राप्ती आँखा अस्पतालको लागत साझेदारीमा ४ करोड २४ लाख ३८ हजार रुपैयाँमा भवन निर्माण भइरहेको इन्जिनियर विशाल केसीले बताए। सिड्डएनड्ड एस–आरएस–भिक्टोरिया जेभी, बुद्धनगर–१० काठमाडौँले २०८३ वैशाखभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ। हाल भवनको ढलानसहित अन्य काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

अत्याधुनिक शल्यक्रिया भवन निर्माण भएपछि लुम्बिनी र कर्णाली प्रदेशका नागरिकलाई अझ सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्न सकिने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले बताए।

नेपाल–भारत विकास सहयोगअन्तर्गत शल्यक्रिया भवनको शिलान्यास २०८१ फागुन २० गते भारतीय दूतावास, काठमाडौँका प्रथम सचिव बशिष्ठ नन्दन र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संयुक्त रूपमा गरेका थिए। हाल दुईतले भवनको ढलान कार्य सम्पन्न भई अन्य काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।

काउन्सिलरद्वारा निर्माणस्थलको निरीक्षण

यसैबीच भारतीय दूतावासको प्रतिनिधि टोलीले निर्माणस्थलको अनुगमन तथा निरीक्षण गरेको छ। भारतीय दूतावास, काठमाडौँकी काउन्सिलर गीतांजलि ब्रैन्डनले निर्माणाधीन भवनको अवलोकन गरिन्।

निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उनले राप्ती आँखा अस्पतालले दृष्टिविहीनता न्यूनीकरणमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले सहयोगका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने आश्वासन समेत दिइन्।
“हामी तपाईँहरूको संस्थासँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर छौँ। व्यवस्थापन समिति, पदाधिकारी र कर्मचारीहरूले दिएको हार्दिक स्वागतका लागि धन्यवाद,” उनले भनिन्।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले भारतीय दूतावासको सहयोगमा शल्यक्रिया भवन निर्माण हुनु सांझेदारी विकासको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सहयोगका लागि सहकार्य गर्न तयार रहेको बताइन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले भारतीय सरकारद्वारा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए। “यो संरचना निर्माण मात्र होइन, लाखौँ नागरिकको दृष्टि जोगाउने अभियानमा एक महत्वपूर्ण कोसेढुंगा हो,” उनले भने। गिरीले आगामी दिनहरूमा पनि आँखा स्वास्थ्य सेवाको विस्तारका लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

डा. सम्शेर थापाले भारतीय दूतावासले आँखा स्वास्थ्य सेवा विकासका लागि निरन्तर सहयोग गर्दै आएको भन्दै भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको बताए। उनले राप्ती आँखा अस्पताल तथा अन्य उपचार केन्द्रहरूको सेवा, उपलब्धि, भावी गुरुयोजना तथा दृष्टिविहीनता न्यूनीकरणका प्रयासबारे जानकारी गराए। त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर हिमाल शर्माले शल्यक्रिया भवनको कार्यप्रगति र हालसम्मको भौतिक विकाससम्बन्धी विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया