सल्यान, १० कात्तिक । सल्यानमा कोटभिरको अनकण्टार भिरमा फसेका युवकको उद्धार गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका–८ स्थित कोटभिरको अनकण्टार भिरमा फसेका बनगाड कुपिण्डे नगरपालिका–७ निवासी २८ वर्षीय रमेश पुनको दिउँसो ४ः२५ बजे उद्धार गरिएको हो । उद्धारका लागि इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी बरिष्ठ नायब निरीक्षक नेत्र बहादुर राना र प्रहरी चौकी बनगाडबाट प्रहरी सहायक हवल्दार दीपक बिष्टको कमाण्डमा ७ जनाको प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो ।
सडकदेखि करिब ३५ मिटर माथि भीरमा पुनलाई फसेको देखेपछि स्थानीयले २ः४५ बजे प्रहरीलाई खबर गरेका थिए । भिरको अत्यधिक जोखिम र उकालो भू–भागका कारण उद्धार कार्यमा केहि समय कठिनाइ भएका थियो । घटनास्थल प्रहरी चौकी बनगाडबाट करिब ७ किलोमिटर पूर्व पर्दछ । पुनको मानसिक सन्तुलन ठिक नभएको र आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।






