तुलसीपुर, ३ कात्तिक । दाङको तुलसीपुर–७ नयाँँ वस्तीका खेलराज नेपालीलाई अहिले कसैसँग बोल्ने फुर्सद छैन । मादलको माग बढ्न थालेपछी उहाँ मादल बनाउन मै व्यस्त हुनुहुन्छ । प्रविधिको विकाससँगै कहिलेकाँही मादलको प्रयोगमा कमी आएको देखिएपनि अहिले भने माग बढ्न थालेको छ । बाबुबाजेले गर्दै आएको पुख्र्यौली पेशा मादल बनाउन सानै उमेरमा सिक्नुभएका उहाँलाई अहिले यही सिपले व्यवसायी बनाएको छ । घोराही–तुलसीपुर सडकखण्डको हात्तीखवा चोकदेखि थोरै माथि सडक छेवैमा कोठा भाडामा लिएर अस्मिता मादल उद्योग सञ्चालन गर्दै आउनुभएका खेलराजले वर्षमा १५ सय भन्दा बढी मादल बनाउदै आउनुभएको छ । आफुले खमारीबाट आकर्षक मादल तयार गर्ने भएकाले दाङसँगै गुल्मी, बाजुरा, बैतडी, धरान, धनकुटालगाएत भारतसम्म पनि मादल पुग्ने गरेको उहाँको भनाई छ । ग्राहकको माग बढीरहँदा मादल बनाउन आवश्यक कच्चा पदार्थको लागी भने समस्या हुने गरेकाले सरकारी निकायले यसमा सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
खेलराज मात्रै होइन । उहाँको मादल उद्योग देखी केही पर पवित्रा वादी नेपालीले पनी मादल मादल बनाउदै आउनुभएको छ । ३ जना सहयोगी राखेर मादल बनाउदै आउनुभएकी पवित्रालाई तिहारका लागी ग्राहकको अर्डर अनुसारको मादल बनाउन भ्याईनभ्याई छ । सानै उमेरमा वुवाबाट सिकेको यो सिप अहिले आफनो जिविको पार्जनको माध्यम बनेको उहाँ सुनाउनुहुन्छ । पुरुषले गर्ने काम महिलाले गर्दा गाह्रो हुने भए पनि पुर्खाको सिप संरक्षणको लागी पनि निरन्तरता दिदै आएको उहाँले बताउनुभयो । यसैगरी व्यवसायिक रुपमा मादल बनाउँदै आएका राजकुमार नेपाली पनी श्रीमति र छोराहरुसँगै परिवार नै मादल बनाउनुहुन्छ । बादी समुदायको कलाको रुपमा रहेको मादल बनाउने पेशा पछिल्लो पुस्ताले पनि सिकेपछी राम्रो हुने राजकुमारको भनाई छ । राजकुमारकी श्रीमति कल्पना नेपालीे पनि व्यवसायिक रुपमा मादल बनाउने पेशाबाट सन्तुष्ट रहेको बताउनुहुन्छ ।
विशेषगरी गित संगीतमा रमाउने, नाचगान गर्ने, माछा मार्नेलगाएतका काम गरी जिविको पार्जन गर्दैै आएका बादी समुदायका नागरिकहरु अहिले स्वरोजगारको बाटोतर्फ पनी बघि बढिरहेका छन् । अहिले तुलसीपुर–७ को नयाँ बस्तीमा मात्रै १ सय ५० घर वादी समुदायको बसोबास छ । बादी समुदायको मादल बनाउने पुख्र्याैली पेशालाई संरक्षण र प्रर्बद्धन गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकारले सहयोग गरेपछी उद्योग निर्माण गरिएको र अहिले उक्त उद्योगमा १० जनाको समुह आबद्ध भएको बताइएको छ । जसले गर्दा मादल बनाउन पनि थप सहज भएको छ । बादी समुदायको मादल बनाउने व्यवसायला्ई पुस्तानान्तरण गर्न सरकारको सहयोग आवश्यक रहेको उनीहरुको जोड छ ।
मादल नेपालको एक प्रसिद्ध ताल बाजा रहेको र पछिल्लो समय प्रविधिको विकाससागै ओझेलमा परेको यो बाजालाई लाोप हुन नदिन सरकारले पनि साथ दिनुपर्ने उनीहरु बताउछन् । मादल बनाउने सिप पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न सके यसलाई जिवन्त राख्न सकिने उनीहरुको भनाई छ । यता तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्र्धन शाखाका प्रमुख झरेन्द्र खरेलले व्यवसायिक रुपमा लागेका व्यवसायीहरुलाई नगरपालिकामा सुचिकृत हुन आग्ह गर्नुभएको छ । व्यवसायीको अभिलेख भए मात्रै पालिकाले आवश्यक सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । स्थानीय कला, संस्कृतिको संरक्षणका लागी नगरपालिकाले बजेटको समेत व्यवस्था गरेको भन्दै तिहारलगतै काम सुरु गर्ने उहाँले बताउनुभयो ।।


















