२०८३ बैशाख ११ गते शुक्रवार

प्रियासन भन्छन् – नेपालमै धेरै उपन्यास लेख्छु र ८४ मा निर्वाचन लड्छु

घोराही कार्तिक २ । उपन्यासकार तथा साहित्यकार सविन प्रियासनले नेपालकै सबै भन्दा धेरै उपन्यास प्रकाशन गर्ने र आउँदो २०८४ मा हुने निर्वाचनमा जनप्रतिनिधिमा उमेदवार बन्ने आफ्नो दुईवटा उद्देश्य रहेको बताउनु भएको छ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासनको १२ औं उपन्यास कालो मनको आइतबार घोराहीमा आयोजित विमोचन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘संयोग मान्नुपर्छ, म नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशन गर्ने उपन्यासकार बनेको रहेछु, मेरो लक्ष्य अब पहिलो बन्नेछ, यसैगरी देश र जनताको लागि काम गर्न आउँदो २०८४ को निर्वाचनमा उमेदवार बन्ने उद्देश्य छ’–प्रियासनले भन्नुभयो,–‘मेरो जिन्दगीको अब दुईवटा उद्देश्य छ, जसलाई म पुरा गर्नेछु ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहनु भएका प्रियासनले आइतबार घोराहीमा प्रकाशित गरेको कालो मन उपन्यास २०८ पृष्ठको छ । गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक, प्रधानसम्पादक रहनु भएका प्रियासनले यही जेठ ३१ गते कडी उपन्यास विमोचन गर्नु भएको थियो । २५ दिनमै लेखेर, सम्पादन गरेर, छापेर विमोचन समेत गरिएको प्रियासनको भनाइँ छ ।

कृषि उद्यमशीलता र स्वास्थ्य क्षेत्रको विषय बस्तुभित्र रहेर लेखिएको कालो मन उपन्यासमा प्रेम, समाज, घरपारिवारलाई पढ्न सकिन्छ । प्रियासनले पछिल्ला दिनहरुमा घोराही बनाऔं अभियान मार्फत यस क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासनलगायतका क्षेत्रमा काम गरिरहनु भएको छ ।

सुभ्राम्सु प्रियासन चौधरीको अध्यक्षत्तामा भएको कार्यक्रममा सहभागि एकसयजति व्यक्तिहरुले कालो मन उपन्यासको एकैसाथ विमोचन गरेका थिएँ । सो अबसरमा बोल्दै प्रमुख अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देबकोटाले प्रियासनको साहित्य, पत्रकारिता एवं सामाजिक गतिविधिहरु रहर लाग्दो भएको बताउनुभयो । विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा सक्रिय प्रियासनले साहित्यीक क्षेत्रमा पनि अव्वलता कायम राखेकोमा प्रशंसा गर्नुभयो ।

सर्वोदय पुस्तकालयका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले प्रियासनले सुरुकै दिनदेखि साहित्य, पत्रकारिता एवं सामाजिक क्षेत्रमा अगुवाई गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले प्रियासनले पछिल्ला दिनहरुमा साहित्य र पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि प्रभावकारी भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण गणतन्त्र दैनिकका सम्पादक टिका बहादुर बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते आइतवार
प्रतिक्रिया