तुलसीपुर, २३ साउन । दाङको तुलसीपुरस्थित बसपार्कमा रहेको होटेलमा बसेका एक जनाको पैसा चोरी भएको छ । तुलसीपुर ५ वसपार्कस्थित माछापुच्छ्रे चोकदेखि केही भित्र रहेको मेलिना होटेल एण्ड लजबाट गएराती सल्यानको बागचौर नगरपालिका २ का उत्तम डिसीको ४२ हजार नगद पैसा चोरी भएको डिसीले जानकारी दिनुभयो ।
कोठाको ढोकाको माथि रहेको भेन्टिलेशन खोलिएकाले सोही ठाउँबाट हात हालेर माथिल्लो चुकुल खोलेको र तल्लो चुकुल पोछामा राखिएको पाइपको प्रयोग गरेर खोलेको अनुमान गरिएको छ । उहाँले दाङ काठमाण्डौँ चल्ने गाडी चलाउँदै आएकाले होटेलमा बास बस्ने गरेको बताउनुभयो । हिजो पनि काठमाण्डौँबाट आएर राती साढे ११ बजेतिर होटलमा बास बस्नका लागि जानु भएको थियो ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरबाट चोरी भएको खबर आएकाले स्थलगत अवलोकनका लागि प्रहरी खटाएको र घटनाबारे अनुसन्धान भैरहेको डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।।


















