तुलसीपुर, १९ श्रावण । दाङको तुलसीपुरमा कुलोले बगाउँदा २ वर्षीया एक बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा आज बेलुका करिब साढे ५ बजेको समयमा स्थानीय सुदेश बस्नेतकी २ वर्षीया छोरी शुस्मा बस्नेत घरको आगनमा खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
बालिकालाई कुलोले बगाइरहेको देखेपछि उनका बुवाले तत्काल उद्धार गरी कुलोबाट बाहिर निकालेका थिए । घाइते बालिकालाई ६ बजेको समयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर अहिले उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय मलवारबाट सई जंग बहादुर यमसीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।