दाङ, ४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित गहते खोलाको पुलमा ट्याक्टरको ट्रली अटोमा ठोक्किँदा अटोमा सवार चार जना घाइते भएका छन । दुर्घटना आज दिउँसो ३ः४५ बजेतिर भएको हो ।
पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.प्र.०२–००१ त ००९३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा विपरीत दिशाबाट आउँदै गरेको रा.१ ह.७५०० नम्बरको अटोको अगाडिको भागमा ट्याक्टरको ट्रली ठोक्किएको थियो। सोही क्रममा अटोमा सवार चार जना यात्रु घाइते भएका हुन ।
घाइते हुनेमा अटो चालक तुलसीपुर–२ बालापुरका ३८ वर्षीय भीम बहादुर ठाडा मगर, भम्के निवासी १८ वर्षीया मनिषा योगी, भम्केकी ३८ वर्षीया देवी शमा, २९ वर्षीया कल्पना केसी (धिताल) रहेका छन् ।
उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ट्याक्टर चालक तुलसीपुर–१७ दुधरासका २९ वर्षीय राजेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।