बैतडी, २८ असार । बैतडीको पाटन–६ स्थित खिपालीमा शनिबार बिहान साढे ५ बजे भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४–००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
दुर्घटनामा परेर डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री र उनकी दुई वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका छन्। राजेन्द्र र कमलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब १०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटन र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।