२०८३ बैशाख ११ गते शुक्रवार

पर्याप्त मात्रामा धान उत्पादन गर्नुपर्छ : मेयर खडका 

तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिकाले यस वर्षको धान दिवस ८ नम्बर वडाको मालभुङमा मनाएको छ । २२ औं राष्ट्रिय धान दिवसको उद्‌घाटन मेयर टिकाराम खड्काले वैद्धीक परमपरा अनुसार पूजाआराधना पश्चात धान रोपेर गर्नुभएको थियो ।

धान दिवसको उद्‌घाटन गर्दै मेयर खड्काले पेट पाल्नका लागि मात्रै भन्दा पनि अरुलाई पनि बेच्नका लागि धान उत्पादन गर्नुपर्ने बताउनुभयो ।  परम्परागत कृषि प्रणालीबाट अलि माथि उठेर पर्याप्त मात्रामा धान उत्पादन गर्ने सामर्थ्यको विकास गर्नुपर्ने बेला आएको मेयर खड्काले बताउनुभयो ।

बाह्रैमहिना आटो, रोटी खान नसक्ने भएकाले पनि मुख्यबाली मानिने धान खेतीलाई राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको उहाँले बताउनुभयो । धान दिवस मनाइएको खेतमा सिँचाइ हुने कुलाको बाँध समेत बाढीले बगाएकाले निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत मेयर खड्काले  गर्नुभयो । 

आर्थिक समितिका सदस्य हुमाकान्त  सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य तुलसीपुर –८ का वडा अध्यक्ष धर्मराज वलीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख कुलराज चौधरीले गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिका–८ एकता टोल निवासी हेमा डाँगीको ४ कठ्ठा खेतमा धान दिवस मनाइएको थियो । 

 

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया