२०८३ बैशाख ७ गते सोमवार

सरकारी कर्मचारीले अबदेखी महिनामा दुई पटक तलबभत्ता पाउने

सांकेतिक तस्विर

काठमाडौ, ७ बैशाख । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको तलब भुक्तानी प्रणालीलाई मासिकबाट अर्धमासिक रुपमा रूपान्तरण गर्ने औपचारिक निर्णय गरेको छ । यो निर्णय कार्यान्वयनमा आएपछि सबै राष्ट्रसेवक कर्मचारीहरूले हरेक १५ दिनमा एकपटक गरी महिनामा दुई किस्तामा तलब तथा भत्ता प्राप्त गर्नेछन् ।

हालसम्म नेपालमा मासिक रुपमा तलबभत्ता वितरणको व्यवस्था छ । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ ।यो परम्परागत भुक्तानी प्रणालीको सट्टा अब कर्मचारीहरूले आफ्नो कुल आम्दानीको ५० प्रतिशत रकम प्रत्येक १५ दिनमा प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

अर्थ मन्त्रालयले यो निर्णय कार्यान्वयनका लागि आवश्यक प्राविधिक तयारी सुरु गर्न महालेखा नियन्त्रक कार्यालयलाई ४ वैशाखको पत्रमार्फत् भनिसकेको छ ।अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘राष्ट्रसेवक सरकारी कर्मचारीहरुको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रुपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्ने सन्दर्भमा अर्धमासिक रुपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन मिति २०८३-१-४ को मा.अर्थ मन्त्रीस्तरको निर्णयानुसार अनुरोध छ ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया