तुलसीपुर, ११ आषाढ । दाङको तुलसीपुर १९– विजौरीकी सुशीला विक राप्ती प्रादेशिक अस्पतालको ओपिडिको लाइनमा उभिरहनु भएको थियो । उमेरले ५० कटिसक्नु भएकी उहाँ उपचारका लागि छोरीसँग अस्पताल आउनु भएको रहेछ । उहाँ भन्नुहुन्छ, “छोराछोरी बिरामी हुँदा,आफू बिरामी हुँदा,आफन्त बिरामी हुँदा आउने अस्पताल यही हो। सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्छन् ,मलाई त ठीकै लाग्छ तर बिरामी धेरै छन् पालो कतिबेला आउँछ कुर्दै छु ।”
यस्तै सल्यानका जीवन कुमार घर्ती मगरले पित्तथैलीको शल्यक्रिया राप्ति प्रादेशिक अस्पतालमा गर्नुभयो । उहाँ वैदेशिक रोजगारीको लागि विदेशमा रहेका बेला चेकजाँच गराउँदा पित्तथैलीमा पत्थरी देखिएको थियो त्यही पत्थरी फाल्नको लागि शल्यक्रिया गर्नु पर्ने भएपछि निजी अस्पतालमा महँगो लाग्ने हुँदा राप्ती प्रादेशिक अस्पतालमा पनि कम शुल्कमा शल्यक्रिया गर्न मिल्ने बारे जानकारी पाएपछि शल्यक्रिया गरेको बताउनुभयो । आफूले स्वास्थ्य बिमा बनाएकाले पनि खर्च कम लागेको बताउनुभयो ।
यस्तै तुलसीपुर ४– का टेक वहादुर पुन पनि आफनो स्वास्थ्यमा समस्या देखा परे पछि जाँचका लागी राप्ति प्रादेशिक अस्पतालमा जानुभयो । सामान्य जाँच गरेर घर फर्किने सोच बनाएर अस्पताल पुग्नुभएका उहाँ डाक्टरकोे जाँच पछि दमको समस्या देखिएकाले अस्पताल भर्ना हुनुपर्ने भयो । ५ दिनको अस्पताल भर्नामा रहँदा विरामीको लागी निशुल्क खाना सँगै आफु ६० वर्ष पुगेकाले औषधी खरिदमा ५० प्रतिशत छुट पनि पाउनुभयो । यसले गर्दा उपचार खर्चमा सहुलियत मिलेको उहाँको भनाइ छ ।
यस्तै रोल्पाका ओमलाल बिक हर्नियाको शल्यक्रिया गर्न यस अस्पतालमा आउनुभयो । उहाँको पनि अस्पतालमा भर्ना भएको ५ दिन पछि हर्नियाको अप्रेशन भयोे । उहाँले भन्नुभयो, “शुरुमा तुलसीपुरको एक निजी अस्पतालमा उपचार गर्न गएको थिए । शल्यक्रिया गर्नु पर्ने भएकाले निजीमा भन्दा यस अस्पतालमा सस्तो र राम्रो सेवा पाइन्छ, भनेर आएको हुँ, राम्रै सेवा पाए ।”
यी त केही प्रतिनिधिमुलक पात्र मात्रै हुन । पछिल्लो समय राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सेवा लिन आउने बिरामीको संख्या बढ्दो रुपमा रहेको छ । दाङ, रोल्पा, रुकुम, सल्यान, प्युठान लगाएतका जिल्लाहरुबाट विरामीहरुले राप्ति प्रादेशिक अस्पतालबाट सेवा लिन आउने गरेको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच अहिले लुम्बिनी प्रदेश सरकारले अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्ने उदेश्यका साथ ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ को वजेट विनियोजन गर्दै अर्थमन्त्री धनेन्द्र कार्कीले प्रादेशिक अस्पतालको स्तरवृद्धि गरी सेवा सुधार गर्न वजेट विनियोजन गरेको वताउनुभयो । प्रदेश सरकाले वजेट विनियोजन गरेपछि अस्पतालको सेवा थप हुने भन्दै नागरिक खुशी भएका छन् । अस्पतालको स्तरवृद्धि भएपछि विरामीहरु उपचारका लागी जिल्ला वाहिर जानुपर्ने वाध्यता हट्ने अपेक्षा समेत गरिएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.पदम राज अधिकारीले प्रादेशिक अस्पतालको लागी प्रदेश सरकाले वजेट विनियोजन गरेको प्रति खुशी व्यक्त गर्नुभएको छ । ५ करोडले अस्पतालको सवै आवश्यक्ताहरु पुरा गर्न सम्भव नभए पनि अति आवश्यक काम गर्न सकिने भन्दै खुशी व्यक्त गर्नुभएको हो ।
यस्तै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री राजु खनालले आफू मन्त्री भएकै बेला देखि अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्ने प्रयास गरिएको भए पनि सरकार परिवर्तनका कारण केही ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो – “अहिलेको यो बजेट पर्याप्त होइन तर कामको सुरुवात गरेर पछि थप बजेटको ब्यबस्थापनमा जाने गरी काम हुने भएकाले यसलाई सकरात्मक रूपमा लिनुपर्छ ।” यस्तै लुम्बिनी प्रदेशमा बुटवल प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताल रहेको बताउँदै पश्चिम क्षेत्रको गौरवको रूपमा राप्ती प्रादेशिक अस्पताललाई विकास गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।
यस्तै प्रादेशिक अस्पतालबाट विभिन्न प्रकारका स्वास्थ्य सेवा सहित अहिले ओपीडी,शल्यक्रिया र सर्जिकल सेवा, डायलासिस सेवा, रेडियोलोजी, भिडियो एक्स–रे, एक्सरे, एन्डोस्कोपी सेवा, महिला तथा बाल स्वास्थ्य सेवा, प्रसुति सेवा उपलव्ध रहेका छन् । यस्तै प्रयोगशाला सेवा, हार्डजोर्नी सेवा, नाक कान घाँटी, दन्त सेवा, इर्मेजेन्सी सहितका सेवा उपलब्ध रहेको मे.सु.अधिकारीले जानकारी दिनुभयो । हाल ओपीडी कार्ड र जनरल बेडमा थोरै शुल्क लाग्ने व्यवस्था भए पनि इमरजेन्सी सेवा भने निःशुल्क रहेको उहाँले वताउनुभयो ।
२०३३ सालमा स्थापना भएको उक्त अस्पताल २०६५ सालमा राप्ती अञ्चल अस्पताल भएको र त्यसपछी विकास हुदै २०७५ सालमा आएर राप्ती प्रादेशिक अस्पतालमा परिणत भएको में.सु.अधिकारीले बताउनुभयो । ५० बेडको अस्पतालले १ सय ४१ बेडको सेवा सुविधा दिइरहेको भन्दै उहाँले अस्पतालले सकेसम्म सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै लैजाने कोशिस गरिहेको बताउनुभयो । हाल अस्पतालमा चिकित्सक,कर्मचारी सहित २१५ जना कार्यरत रहेकाछन । जस मध्ये ६४ जना मात्रै स्थायी छन् भने अन्य करारमा कार्यरत कर्मचारी रहेका छन् ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।