रसायनयुक्त आँपको बिक्री रोक्न तुलसीपुर उपमहानगरको छड्के, कुहिएका आँप नष्ट

तुलसीपुर,२६ जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले आज फलफुल बजारमा अनुगमन गरेको छ । अहिले आँपको सिजन नभइरहेका बेला बाहिरबाट आयातित आँपहरू बिक्री भइरहेकाले तुलसीपुर–६ स्थित तरकारी तथा फलफुल बजारमा अनुगमन गरिएको हो । अनुगमण गर्दा केही पसलहरूमा कुहिएको तथा खान अयोग्य आँप फेला परेका थिए भने फलफुलहरु ग्रेडिङ नगरेर राखिएको पाईएको छ । अनुगमणका क्रममा मनिस फ्रुट सेन्टरबाट ३० किलो कुहिएको आँप बरामद गरी नष्ट गरिएको छ ।

सुरेन्द्र फ्रुट सेन्टर, एन्जल फ्रुट सेन्टर, दुर्गा फ्रुट सेन्टर, सिता फ्रुट सेन्टर, जैसवाल फ्रुट सेन्टर, मनिस फ्रुट सेन्टर, सुभम् फ्रुट सेन्टर, लक्ष्मी फ्रुट सेन्टर लगाएतका फलफुल पसलमा अनुगमण गर्दा अधिकांश व्यवसायहरूले व्यवसाय नविकरण नगरेको समेत पाइएको छ । विशेष गरी जैसवाल फलफुल पसलले पाँच वर्षदेखि नविकरण नगरेको पाइएको हो। पालिकाले व्यवसायीलाई तीन दिनभित्र दर्ता तथा नविकरण गर्न निर्देशन दिएको छ । समयमै नविकरण नगरेमा थप जरिवाना गरिने चेतावनी दिइएको छ।

स्वास्थ्यका सन्दर्भमा चेतावनी :
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका सूचना अधिकारी सुदर्शन गोसाईले फलफुल चाँडो पकाउन र आकर्षक देखाउनका लागि रसायनको प्रयोग नगर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । यस्ता रसायनयुक्त फलफुलले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने र क्यान्सरको जोखिम समेत बढाउने भएकाले सतर्क रहन व्यवसायी र उपभोक्तालाई आग्रह गरिएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले कुहिएको र राम्रो फलफुल सँगै राखेर वजारमा विक्रिका लागी राख्दा वृद्धवृद्धा तथा गाउँका सोझासाझा उपभोक्ताहरुले किनिहाल्ने र यस्ता फलफुल स्वास्थ्यका लागी हानीकारक हुने भएकाले यसमा ध्यान दिन आग्रह गर्नुभयो । अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण शाखा, खाद्य निरीक्षक, प्रहरी, प्रशासन, बजार व्यवस्थापन, पत्रकार लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते सोमवार
प्रतिक्रिया