तुलसीपुर,२४ जेष्ठ । खाद्य स्वच्छता दिवस २०२५ को अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता, स्वच्छ र सफा पानीको उपभोग गरौं लगाएतका नारासहित विहान वजार परिक्रमा गरी पालिकाको प्राङगणमा पुगेर कार्यक्रम सम्पन्न भएको थियो । हरेक वर्ष जुन ७ तारिखमा मनाईने विश्व खाद्य स्वच्छता दिवसको यस वर्षको नारा “खाद्य पदार्थमा स्वच्छता,विज्ञानको अपरिहार्यता” रहेको छ । यसै अनुसार जेठ १८ गते देखि सप्ताहव्यापी रुपमा वजार अनुगमणको कार्य गरी सचेतनामुलक कार्यक्रमसहित आज दिवस मनाईएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले वताउनुभयो ।
सो अवसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले पछिल्लो समय उत्पादन हुँदै आएका नयाँ नयाँ प्रोडक्टहरुसँगै त्यसको गुणस्तरमा ध्यान दिन आवश्यक रहेको वताउनुभयो । स्वस्थ र स्वच्छ खाद्य उपभोगबाट मात्रै मानिस स्वस्थ रहने र स्वस्थ मानिसले गर्दा नै समाज र राष्ट्र निरोगी हुनेभएकाले व्यवसायी र उपभोक्ता दुवै गम्भिर हुन आवश्यक रहको वताउनुभयो । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुदर्शन गोसाईले विश्वव्यापी अभियानलाई सफल वनाउनका लागी सवै निकाय जिम्मेवार हुनुपर्ने वताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर, ताजा चाउमिन तथा सस व्यवसायी महासंघ नेपाल, दाङ जिल्ला वेकरी एशोसियसन, तुलसीपुर मेट्रो कलेज लगाएतको सहभागिता रहेको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।