तुलसीपुरको बेलुवामा कुटपिट हुँदा बालक गम्भीर घाइते

तुलसीपुर, १९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको झैँ–झगडामा एक बालक गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । साँझ करिब ५ः३० बजे बेलुवास्थित सक्सेस बोर्डिङ स्कुलअगाडि १४/१५ वर्षीय विराज गिरी र १५ वर्षीय यज्ञ वलीबीच सामान्य विवादका क्रममा झैँ–झगडा हुँदा गिरी गम्भीर घाइते हुनुभएको हो ।

घाइते विराज गिरी रुकुम बाँफिकोट गाउँपालिका घर भई हाल तुलसीपुर–८ दूधेना बस्दै आएको र कुटपिटमा संलग्न यज्ञ वली स्थानीय बेलुवा निवासी भएको प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । कुटपिटका क्रममा विराजको टाउकोमा गहिरो चोट लागेको छ । टाउकोमा लागेको चोटका कारण बेहोस अवस्तामा रहनु भएका बालकको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको छ ।

घटना लगत्तै प्रहरी चौकी बेलुवा दाङबाट खटेको प्रहरी टोलीले कुटपिटमा संलग्न यज्ञ वलीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया