रुपन्देही,१४ जेठ । राष्ट्रपतिबाट आममाफी पाएका एक युवकले पूर्वपत्नी र उनका दुई छोरीको बीभत्स हत्या गरेका छन् । बुटवलको कालिकानगरस्थित होराइजन चोक नजिकैको मिलिजुली पथमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू( ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन् । दीपा बस्यालले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार, कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए । बिहानैको समयमा चक्कु र घन प्रयोग गरी ती तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभयो मृतक दीपा स्वास्थ्यकर्मी रहेको र पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत रहेको बुझीएको छ ।
हत्या अभियोगमा पक्राउ परेका कोइरालालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । उनी यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल चलान भएका थिए । तर, संविधान दिवसको अवसरमा सरकारले दिएको माफी अन्तर्गत रिहा भएका थिए । सुजनले दीपालाई मङ्गलवार आफ्नै घरमा बोलाएर बुधवार बिहान हत्या गरेको प्रहरीले जनाएको छ ।
तीनै जनाको शव घन र चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुजन र दीपा पूर्व पतिपत्नी भए पनि हत्या गरिएका बालिकाहरू भने शंकर ढकालतर्फका रहेको प्रहरीले जनाएको छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।