गाडी दुर्घटनामा परी तुलसीपुरका वली दम्पतीको मृत्यु

तुलसीपुर, ३० बैशाख । रुकुम पश्चिममा गाडी दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उहाँकी श्रीमती ४४ बर्षीया लिला वली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर ऋषी पाठकले जानकारी दिनुभयो । दुर्घटनामा परेर सोही ठाँउकी ५० बर्षीया दुर्गा वली र गाडी चालक तुलसीपुर–७ का ४४ बर्षीय लिलामणी भण्डारी गम्भिर घाइते भएका छन् । घाइते दुबैजनालाई चौरजहारी अस्पतालमा सामान्य उपचार पछी उपचारका लागी बाँकेको नर्सीङहोम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसाररुकुम पश्चिमबाट दाङको तुलसीपुरतर्फ आउदै गरेको लु प्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी सानीभेरी गाउँपालिका १० तिमिलेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी नर बहादुरको घटनास्थलमै मृत्यु भएको थियो भने लिलाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । गाडीमा चालकसहित चार जना मात्र रहेको प्रहरीले जनाएको छ । वलि दम्पती कुल पूजाको लागि दाङबाट रुकुम पश्चिम गएर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार तीव्र गतिमा रहेको गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको थियो । कच्ची बाटोमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनी दुर्घटनाको एकिन कारण भने नखुलेको इन्स्पेक्टर पाठकले बताउनुभयो । घाइतेको उपचारपछी मात्रै सबै कुरा पत्ता लाग्ने बताउदै उहाँले यस घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहको बताउनुभएको छ । दुबैजनाको शव जिल्ला अस्पताल रुकुम पश्चिममा राखिएको छ ।।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया