२०८३ भाद्र १६ गते मङ्गलवार

रुकुम पश्चिममा ८० सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रुकुम,२५ बैशाख । रुकुम पश्चिममा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ८० वटा सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटना परेर मृत्यु भएका पाँच जना पुरुष रहेका छन् । ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्र प्रसाद भट्टले दुर्घटनाबाट ३८ जना गम्भीर घाइते हुँदा ९० जना सामान्य घाइते जानकारी दिनुभयो । यस अवधिमा ४१ वटा मोटरसाइकल, १३ वटा जिप तथा कार, १२ वटा अटो लगायत अन्य साना तथा ठूला सवारी साधन दुर्घटनामा परेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुर्घटनाको कारण मृत्यु हुनेको सङख्या गत आर्थिक वर्षभरिमा भन्दा यस अवधिमा कमै रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ८० वटा सवारी साधन दुर्घटना हुँदा पाँच जनाको र गत आर्थिक वर्ष २०८०/०८१ मा भएका ८० वटा दुर्घटनामा २३ को मृत्यु भएको तथ्याङक रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार कच्चि सडकमा क्षमता भन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा कुदाउने र भौगोलिक अवस्थाको कारण दुर्घटना हुने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म दुई हजार ६४९ साना तथा ठुला सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।  कारबाहीमा सबैभन्दा बढी मोटरसाइकल परेका छन् । कार्यालयका अनुसार एक हजार ३६६ मोटरसाइकल, ५१८ वटा जिप, कार तथा भ्यान, २६९ वटा टेम्पो, १९३ वटा ट्रयाक्टर, १६४ वटा बस तथा मिनिबस र १३९ वटा ट्रक तथा ट्याङकर कारबाहीमा परेका छन् । कारबाहीबाट हालसम्म २४ लाख ७३ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको छ । जसमध्ये मोटरसाइकलबाट मात्रै १४ लाख ४५ हजार पाँच सय, जिप, कार तथा भ्यानबाट चार लाख छ हजार, टेम्पोबाट दुई लाख १० हजार, बस तथा मिनिबसबाट एक लाख ४४ हजार, ट्रक तथा ट्याङकरबाट एक लाख ३६ हजार पाँच सय र ट्रयाक्टरबाट एक लाख ३१ हजार पाँच सय रुपियाँ राजस्व जम्मा गरिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।