दाङ, १८ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित ग्वारखोलामा आज बिहान करिब १० बजे बस र टिप्पर आपसमा ठोक्किँदा एक महिला घाइते भएकी छिन्।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००१ नम्बरको यात्रुबाहक बस र सोही दिशाबाट जाँदै गरेको रा.१ ख ३६१८ नम्बरको खाली टिप्पर एक आपसमा ठोक्किँदा सल्यान छत्रेश्वरी गाउँपालिका–२ घर भएकी ४१ वर्षीया दिला नेपाली घाइते भएको प्रहरीले जानकारी दिएको छ।
टिप्परको पछाडिको भागले बसको अगाडिको भाग छोएकोले दुर्घटना भएको बताइएको छ। घाइते नेपालीको ढाड र छातीमा चोट लागेकाे छ। उनलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि लगिएको हो। हाल उनको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि बस चालक घोराही उपमहानगरपालिका–११ निवासी ३४ वर्षीय टोपबहादुर वली र टिप्पर चालक हापुर निवासी ३० वर्षीय मिलन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा सामान्य क्षति पुगेको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।