होलीलाई थारु भाषामा ‘होरी’, ‘ढुरहेरी’ अथवा ‘ढुरहोरी’ भन्ने गरिन्छ । विशेष गरी धुलोबाट खेलिने चाड भएकै कारण थारुहरुमा यो पर्वको नाम नै ‘ढुरहोरी’ राखिएको थारु बुद्धिजीवीहरुको तर्क रहेको छ । धार्मिक र ऐतिहासिकमहत्वबोकेको हिन्दु नेपालीहरुको हरेक पर्व समुदाय पिच्छे फरक फरक ढंगले मनाइन्छ । सबै नेपाली नै, तर पनि परम्परादेखि नै फरक फरक समुदायको फरक फरक पर्व र एउटै पर्वलाई पनि फरक तरिकाले मनाउँदै आएका छौँ हामी । यसै अनुसार अहिले हाम्रो देशमा रंगैरङको पर्व होलीअर्थात फागू पूर्णिमा मनाइरहेका छौँ । थारु समुदायमा पनि समय परिवर्तन संगै होली पर्व रंगिएर मनाइएतापनि मौलिक रुपमा यस पर्वलाई ढुर्हेरी अर्थात होरी भनिन्छ र त्यो ढुर्हेरी मनाउने परम्परा पनि कायमै छ । यसलाइ थारु समुदायमा एक आपसमा रङ्गिदै मनाइन्छ भने अर्को आफ्नै परम्परा अनुसार पुजाआजा गरेर पनि गरिन्छ । परापूर्वकालदेखि यो सांस्कृतिक पर्वलाई थारु समुदायले पनि मनाउँदै आएको आधारहरु फेला पार्न सकिन्छ । यस पर्वमा थारु समुदायमा फरक तरिकाले मनाइन्छ । अन्य समुदायमा प्रेम, आपसी भाइचारा, सद्भाव र उल्लासको पर्वको रुपमा मनाउने गरेतापनि थारु समुदायमा भने यसलाई भुइँह्यार थानमा रहेको थारुहरुको कूल देवतालाई पूजा गरेर यो पर्व मनाइन्छ र विशेष गरी यो समयमा धेरै हावा हुरी चल्ने भएकाले हावाको माध्यमबाट विभिन्न खालका सरुवा रोगहरु लाग्ने हुनाले थारु समुदायमा यस्ता खालका रोगहरु नलागोस् भनी यो पर्व मनाउने गरिएको थारु बुद्धिजीवी महटवा महासंघका दाङ जिल्ला अध्यक्ष चन्द्र प्रसाद चौधरीको भनाई छ ।
फागु पूर्णिमाको दिनअ र्थात पहाडी क्षेत्रमा होली मनाइएको दिनको साँझदेखि थारु समुदायमा होली सुरु हुन्छ । फागु पूर्णिमाको दिन साँझ थारु समुदायका व्यक्तिहरु भुइँह्यार थानमा गएर सलाईको प्रयोग विना नै काठको प्रयोग गरी आगो बालेर रोटी पकाउने र भुइँह्यार थानमा रहेको देवतालाई पुज्ने गरिन्छ । त्यही आगो गाउँका सबै जनाले ल्याएर सबै भन्दा पहिले आफ्नो कूल देवतालाई बाल्ने चलन रहेका थारु बुद्धिजीवी चन्द्र प्रसाद चौधरीले बताउनुहुन्छ । त्यसको भोलीपल्टबाट थारु समुदायमा प्रत्येक घरमा ढुरहेरी (फगोई) पुज्न सुरु हुन्छ र यो पुजाई थारुहरुको पर्व अट्वारी नआउँदा सम्म पनि जारी रहन्छ । अट्वारी भन्दा पछि यो पर्व लाई लैजानु हुँदैन भन्ने मान्यता रहेको छ । छुट्टैे संस्कार र संस्कृति रहेको आदिवासी थारु समुदायमा पनि फरक र मौलिक ढंगले ढुर्हेरीे मनाइन्छ । थारुहरुमा पनि विशेष गरी फरक संस्कारले मनाउने पर्व होली अर्थात ढुरहेरीलाई पश्चिमी राणा थारु समुदायमा अझ विशेष महत्वका साथ मनाइन्छ । राणा थारुहरुको सबै भन्दा ठूलो पर्वको रुपमा होलीलाई एक महिनासम्म धुमधामका साथ मनाउँछन् ।
होलीपर्व थारुको पूर्णिमाको दिन चिर दहन गरेपछि शुरु हुन्छ । नेपाल सरकारको होली पूर्णिमाको विहानैबाट शुरु हुने भएपनि थारु समुदायमा साँझगोठालाले गाईवस्तु गोठमा बाँधी सकेपछि चिरदहन शुरु गरिन्छ ।गोठालाहरु गोठालोबाट आइसकेपछि रमाइलो खालका(उज्जर सुट क¥यासुट) जस्ता गीतहरु गाउँदै ३ अर्थात ५ पटक गाउँ घुम्ने गर्छन् । चिरदहनको प्रसंग होलीकाको नामबाट जुरेको छ । सिमलको सानो रुखलाई गाउँको चौराहामा ठड्याइ त्यसमा तोरीको सुकेको डाँठ राखी आगो लगाउने गरिन्छ । आगो लगाउनुको अर्थ दुष्ट होलीकालाई जलाएको मानिन्छ । आगो लगाई बलिरहेको आगोमा ढुंगा मुढा पनि गरिन्छ । ठड्याएको सिमलको रुखको हाँगा धारिलो आँसीले छिनाल्ने परम्परा पनि थारु समुदायमा छ । यसको अर्थ दुष्ट होलिकाको घाँटी काटेको सम्झना गरिन्छ । चिरदहन गरेको दोश्रो दिनदेखि माटो, धुलो र खरानीले होली खेल्ने गरिन्छ ।
दङ्गीशरण–३ हेकुली गाउँका थारू समुदायले ढुरहेरीको चीर दहन गर्दै । तस्बिरः सन्तोष दहित
तेश्रो दिन होली खेल्दा अलि रंग र अविरको प्रयोग पनि गरिन्छ । दोश्रो दिनको होली खतरापूर्ण छ, किनभन्दा माटो, हिलो, खरानीले खेलिने हुनाले धेरैको आँखा विग्रने कसैको शरीरमा तातै आगोको खरानी हाल्नाले शरीरमा नै घाउ हुने र फोहर पानीले शरीर कपडा नै फोहर हुने गर्दछ । यसरी होली खेल्दा फाइदा भन्दा बेफाइदा र गलत परम्पराको विकास हुने सम्भवना हुने भएकाले ध्यानदिनु पर्ने देखिन्छ । एक दिनको रमाइलोले कसैले जिवनभर दुःख पाउने स्थिति निम्तियो भने पक्कै पनि त्यो राम्रो हुँदैन । त्यसैले रमाइलोको नाममा नराम्रा प्रवृतिलाई त्याग्न आवश्यक छ । तेश्रो दिन रंग र अविरले खेलिने होली थारु समाजमा समयसँगै खेल्ने गरेता पनि त्यति धेरै प्रभाव भने पारेको देखिन्न । जति माटो, धुलो र खरानीले खेलेको रमाइलो मान्ने थारु समुदायका पुराना पुस्ताका थारुहरु रंग अविरलाई आधुनिक जमानाको विकृतिको रुपमा लिने गर्दछन् भने अहिलेका नयाँ पुस्ता भने यही रंग अविरमै रमाउने गर्छन् र अहिलेकै अवस्थालाई सहजै स्वीकार गर्ने गर्छन् । थारु समाजमा होलीको महत्व अन्य पर्वको जस्तो महत्वपूर्ण छ । होलीमा विशेष गरी ढुर्हेरी (फगोई) पुज्ने भएकाले यस पर्वमा आफ्ना चेलीबेटी, आफन्तीहरुलाई घरमा बोलाइन्छ । नाता गोता, आफन्तहरुसँग भेटघाट हुने, आपसी सौहाद्रपूर्ण वातावरणको सृजना हुने, चेलीबेटीसँग भेटघाट हुने अवसर मिल्ने हुनाले यस पर्वलाई महत्वका साथ हेरिन्छ । यो भन्दा धेरै पहिले रङहरु नहुदा थारु समुदायमा धूलो, माटो, खरानी आदि चिज प्रयोग गरी होली मनाइनथ्यो भने समय परिवर्तनसंगै विभिन्न किसिमका रङ लगायत केमिकलहरु प्रयोग गरिएको रङ प्रयोग गरिन्छ । जुन राम्रो पक्ष पनि हो भने कतै नराम्रो पक्ष पनि जोडिएको छ , किनभने जसले गर्दा हाम्रो शरीरमा नै असर पुग्ने गर्छ । यो कुरा हामी कतिपयले जान्दाजान्दै प्रयोग गरेको देखिन्छ भने कतिपयले नजानीनबुझी देखासिकीको भरमा प्रयोग गरेको हामी थुप्रै उदाहरणहरु देख्न सक्छौँ ।
अर्कोतिर महाभारतको कथासँग थारुको पनि अनेक संस्कृति र पर्व मिलेजस्तै यो होलीपर्व पनि महाभारतको कहानीसँग मिल्छ । सत्य र इमान्दारिताको जीत, असत्य र छलकपटको हार, महाभारतको कथामा उल्लेख भएअनुसार यो होली पर्वको कहानी पनि सत्यको असत्य माथि भएको जीतलाई दर्शाउँछ । सत्यको असत्य माथि विजय गरेको सन्दर्भलाई एउटा खुशियालीको रुपमा मनाइने पर्व होली, थारु जातीहरु पनि त्यही सन्दर्भलाई जोडी यो पर्व मनाउँछन् । त्रेतायुगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । सद्भाव र सत्यलाई विजय गराएको प्रसंग होलीमा देखाइएको छ । यसै प्रसंगलाई मध्यनजर गरी यो होलीपर्व मनाइने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने यो पर्व केही वर्षदेखि रङ्गको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ्ग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गर्दै नियम विपरितका कृयाकलाप गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । हरेक चाडपर्वको सकारात्मक र नकारात्मकपक्ष त हुन्छन् नै तर हामीले नै नकारात्मक पक्षलाई त्याग्दै सकारात्मक पक्षलाई अंगाल्दै गयौँ भने चाडपर्व मनाउनुको पनि सार्थकता रहला । यसरी हेर्दा थारु समुदायमा होलिलाई रमाइलोको पर्व मात्र नभई विशेष खालको पूजा गरेर पनि मनाइन्छ । पछिल्लो समय होली पर्वलाई रमाइलो गर्ने आधुनिकतासँगै विभिन्न विकृतिहरुलाई आत्मसात गर्दै गइरहेको महसुश भएको मैले पाएकी छु । रमाइलोको नाममा विभिन्न खालका केमिकलहरु प्रयोग गरिएको रङहरु प्रयोग गर्दा शरीरमा पर्ने असरहरुबारे जानकारी हुँदाहुँदै पनि कतिपयले प्रयोग गरेको देख्न सकिन्छ भने कतिपयले रमाइलो गर्दागर्दै आफ्नो शरीरमापुग्ने क्षतिबारे नै बिर्सिदिने अवस्था छ, त्यसैले हामी सबै समयमै सचेत भएर होलीलाई मनायौँ भने चाडपर्वको पनि सही सार्थकता रहन्छ ।। अन्तमा होलीमा रंगले भौतिक शरीर रंगिए जस्तै सबैको मन सधैँसधै रंगीन बनोस, २०८१ सालको होली अर्थात होरीको सम्पूर्णमा हार्दिक संगलमय शुभकामना ।।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।