तुलसीपुर,१० फागुन । तुलसीपुर चेम्बर अफ कमर्सले सञ्चालन गरेको दोस्रो तुलसीपुर महोत्सव भित्र प्रवेश गर्न नक्कली टिकटको प्रयोग गरेको पाइएको छ । कर छली गर्न आयोजकले २ थरीका नक्कली टिकटको प्रयोग गरेको पाइएको हो । बिक्री मूल्यको ५ प्रतिशत रकम स्थानीय सरकारलाई कर बुझाउनुपर्ने कानुनी व्यवस्था भएपछि आयोजकले नक्कली टिकटको बाटो अपनाएको बुझिएको छ ।

तुलसीपुर उपमहानगरपालिको छापेको सक्कली टिकट

आयोजकले छापेको नक्कली टिकट
महोत्सव स्थलमा आयोजकले बिक्री गरेको ८०७४ नम्बरको प्रवेश टिकटमा माछाको संकेत पाइएको छ भने टिकट नं. ११८१५ मा नेपालको झण्डा प्रयोग गरेको देख्न सकिन्छ । नक्कली र सक्कली टिकटको थाहा पाउन (चिन्न) का लागि आयोजकले नेपालको झण्डा र माछाको संकेत राखेको हुनसक्ने अनुमान गरिएको छ । टिकट तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएको टिकटमा भने माछा र झन्डाको छाप राखिएको छैन ।
महोत्सवको ९ दिनसम्म आइपुग्दा तुलसीपुर उपमहानगरपालिका जिन्सी शाखाले शुक्रबारसम्म ६५ हजार एक सय रुपैयाँका र ८० रुपैयाँका सहुलियत दरका १३ हजार समेत गरेर ७८ हजार प्रवेश टिकट आयोजकलाई दिएको बताएको छ । महोत्सव आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले नक्कली टिकटको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै यसका विषयमा बुझेर प्रतिकृया दिने बताउनुभयो ।
यता तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नक्कली टिकट सार्वजनिक भएको कुरा संचार माध्यमबाट थाहा पाएको बताउँदै यसका विषयमा अनुसन्धान गरिने बताउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।