
रूकुम पूर्व, ३० माघ । रुकुम पूर्वमा खुकुरी प्रहार गरी २ जनाको हत्या गरेर भाग्ने क्रममा एकजनाको मृत्य भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ साकिम गाउँमा हिजो मंगलबार दिउँसो सवा ३ बजेतिर स्थानिय ६० वर्षीया ढाँटी बुढा र उहाँका ८ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार उनीहरुलाई खुकुरी प्रहार गरी भाग्दै गरेका छिमेकी ५१ वर्षीय चन्द्रसिंह पुनको भिरबाट लडेर त्यही खुकुरीले लाग्दा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रमुख डिएसपी माधव खरेलले जानकारी दिनुभयो । हजुरआमा र नातिको हत्या गरी पुन भागेको भन्ने खबर पाउनासाथ ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो ।
हत्यामा प्रयोग भएको खुकुरी देखाउँदै एकजना भागेको भन्ने सूचनाका आधारमा प्रहरीले फरार अभियुक्तको खोजी गर्दै जाने क्रममा उनी पनि खुलखुले खोलामा मृत अवसथमा फेला परेको डीएसपी खरेरलले बताउनुभयो । प्रहरीका अनुसार मृत अवस्थामा फेला परेको पुनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको छ । ठूलो संख्यामा प्रहरी देखेपछि भाग्ने क्रममा भिरबाट लडेर त्यही खुकुरीले उनको टाउकोमा लागेको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिहेको छ ।।