तुलसीपुर, २१ माघ । सारङ्गी बाजाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । गन्धर्व समिति समाज, स्थानीय सारङ्गी उत्पादन समूहले तुलसीपुर –४ रक्षाचौरमा आयोजना गरेको १४ औं सारङ्गी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सारङ्गीको इज्जत गन्धर्व समुदायले धानेकै कारण लोप हुनबाट जोगिएको बताएका छन् ।
संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरेकाले वडा र पालिका सरकार सारङ्गगीको संरक्षणमा जुट्नुपर्ने वक्ताहरुले जोड दिएका छन् । धार्मिक रीतिरिवाज र संस्कृतिसँग जोडिएको राष्ट्रिय बाजा सारङ्गगीले एक सय प्रकारका मिठो धुन दिएपनि यो निकै दुःखमा बाँचिरहेको बताउँदै वक्ताहरूले सारङ्गी गन्धर्व जातिको मात्रै नभएर सबै नेपालीको मौलिक बाजा भएकाले हरेक घरमा बजाइनु पर्नेमा जोड दिए । समूहका अध्यक्ष अर्जुन नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–४ का वडा अध्यक्ष तुलसी थापा, नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत, वाद्यवादक तथा कलाकार बच्चू कैलाश, शालिकराम गन्धर्व, गणेश गन्धर्व लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न गीत, नृत्य र नौमति बाजा समूहका महिलाहरूले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको सञ्चालन गायककार सुशील दुःखीले गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।