दाङ, १२ माघ । नागरिक समाज दाङले चोरीका घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न प्रहरीलाई आग्रह गरेको छ । समाजका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय दाङका विभिन्न स्थानमा भएका चोरीका घटनाले स्थानीय नागरिकमा असुरक्षा बढाएको भन्दै न्यूनीकरण प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ।
घोराही, तुलसीपुर, लमहीलगायतका स्थानमा भएका चोरीका घटनाहरूलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले केही कदम चालेको बताइए पनि ती कदम पर्याप्त नभएको गुनासो छ । चोरीका घटनाहरूको यथाशीघ्र अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाही नगरेसम्म चोरीका घटनाले समुदायमा असुरक्षा बढ्दै जाने समाजले जनाएको छ ।
विज्ञप्तिमा प्रहरीले यस्ता घटनालाई नियन्त्रण गर्न चालेका कदमहरू प्रभावकारी नभएको र थप सक्रियता अपनाउनुपर्नेमा ध्यानाकर्षण गरिएको छ । स्थानीय सुरक्षा समिति गठन गरी चोरी नियन्त्रणका उपायहरूमा समुदायलाई सहभागी गराउन, प्रहरी गस्तीलाई नियमित र प्रभावकारी बनाउन, सिसि क्यामरा जस्ता प्रविधिको प्रयोगलाई बढावा दिन र जनचेतना अभियान सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।