२०८३ मङ्सिर ९ गते बुधवार

दाङका दुई प्रभावशाली नेताले देखाए टरिगाउँ एयरपोर्टमा चासो 

तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि दाङका दुई प्रभावशाली नेताले चासो देखाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाली काँग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेयलाई भेटेर टरिगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको छ । छलफलमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोखरेल र पूर्व सिचाइ मन्त्री दीपक गिरीले लिखित रुपमा बुझाएको ज्ञापनपत्र बुझाउँदै २०११ सालमा स्थापना भएको विमानस्थलको धावनमार्ग सानो भएका कारण साना जहाजले मात्रै उडान भर्ने र ठूला जहाजले उडान भर्न नसक्दा दाङ सहित सल्यान, रोल्पा, रुकुम, प्युठानका नागरिकहरू हवाइ सेवाबाट बञ्चित भएकाले स्तरवृद्धिका लागि प्रकृया अघि बढाउन आग्रह गर्नुभएको छ । 

विभिन्न समयमा संचालन र बन्द हुँदै आएको एयरपोर्टमा केही समय यता हप्तामा एकपटक नेपाल एयरलाइन्सले उडान भर्दै आइरहेको छ ।  विमानस्थलको धावन मार्ग विस्तारका लागि चालु आर्थिक वर्षमा न्युन बजेट भएकाले अवश्यक बजेट व्यवस्थापन गरि निर्माण प्रकृयालाई  अघि बढाउने विषयमा नेताहरूवीच छलफल छलफल भएको छ । उहाँहरूले पर्यटनमन्त्रीलाई डिपिआरको विस्तृत रिपोर्ट समेत पेश गर्नुभएको छ । छलफलपछि मन्त्री पाण्डेयले विमानस्थल विस्तारका लागि आवश्यक बजेट विनियोजनको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

पूर्व मुख्यमन्त्री एवं एमाले महासचिव शंकर पोखरेलले दाङको विकासका लागि विमानस्थल अपरिहार्य भएको उल्लेख गर्दै टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार तत्काल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले दाङको विकासका लागि यहाँ रहेका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, अन्य सरोकारवाला निकाय एवं आम सर्वसाधारण बीच साझा धारणा हुनुपर्ने बताउनुभयो ।

छलफलमा मन्त्रालयका सचिव, प्राधिकरणका डिजी, मन्त्रालयका योजना प्रमुख लगायतको उपस्थिति रहेको थियो । तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीको नेतृत्वमा ७२ सिटे जहाज बसाउनका लागि आवश्यक पर्ने धावनमार्ग, बस्ती व्यवस्थापन, टर्मिनल भवन लगायतका भौतिक संरचना निर्माणका लागि ३ अर्ब ४२ करोड, २८ लाख ३५ हजार रुपैयाँ खर्च लाग्नेगरि डिपीआर तयार गरिएको छ । उपमेयर चौधरीका अनुसार अहिले १८ सिटे जहाजले हप्तामा एकपटक उडान भर्ने गरेको छ ।  ७२ सिटे जहाजका लागि १९ सय मिटर लम्बाई र एक सय ५० मिटर चौडाई रहेको धावन मार्ग आवश्यक पर्ने प्राविधिकहरुले जानकारी दिएका छन् । हाल धावनमार्गको चौडाई ७ सय ५० मिटर मात्रै रहेको छ ।

७० वर्ष अघि संचालनमा आएको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान हुन नसकेपछि नागरिकहरुले निर्वाचनमा चुनाबी एजेण्डा बनाउने त्यसपछि सेलाउँने गरेको भन्दै नेताहरु प्रति आक्रोश पोख्दै आएका छन् । दाङको मूल नेतृत्व नै टरिगाउँ एयरपोर्ट, तुलसीपुर घोराही सडक लगायतका ठूला गौरबका योजना निर्माणमा अग्रसर भएपछि जनतामा केही आशा पलाएको छ ।  

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।