काठमाडौँ, ४ पुष । महिला अभियन्ताहरुले नागरिकता सम्बन्धी कानुनमा सबैलाई समान व्यवस्था गरिनुपर्ने माग गरेका छन् । महिला र पुरुषको नाममा जारी गरिने नागरिकताबीच समानता नभएकाले संविधान संशोधन आवश्यक भएको उनीहरूको भनाइ छ । मिडिया एड्भोकेसी ग्रुप (एमएसी) र महिला, कानुन र विकास मञ्चले आयोजना गरेको ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा एमाले नेता एंव पूर्वसंविधानसभा सदस्य विन्दा पाण्डे, नेकपा माओवादी नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, काँग्रेस नेता एवं पूर्वसहरी विकासमन्त्री सीता गुरुङले नागरिकतामा भएको विभेद हटाउन माग गर्नुभएको हो । पाण्डेले संविधानको धारा ११ को उपधारा (६) सच्याइनुपर्ने र सोही धाराको उपधारा (७) हटाइए नागरिकतासम्बन्धी समस्या समाधान हुने दाबी गर्नुभयो । संविधानको धारा ११ को उपधारा (६) मा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने छ’ भनी व्यवस्था गरिएको छ । यसमा ‘महिला’ को स्थानमा ‘नागरिक’ मात्र लेखिए समस्या नहुने उहाँको भनाइ छ । यसैगरी संविधानमा लेखिएका अन्य प्रावधान पनि सच्याउनुपर्नेमा माओवादी नेता शर्माले माग गर्नुभयो । काँग्रेस नेता गुरुङले आमाको नाममा नागरिकता दिने भनिएपनि व्यवहारिक पाटो गाह्रो भएकाले यसलाई कानुनमात्र नभई दबाब दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले वर्तमान संविधान प्रगतीशील देखिए पनि महिला र पुरुषबीच समान अधिकार प्रदान गर्न नसकेको उल्लेख गर्नुभयो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।